चुनावमा लाग्न सबै दलहरूलाई आग्रह 
(टंक पन्त⁄रामकृष्ण चापागाईं,काठमाडौं) निकै चुनौती र चर्को विरोधका बीच प्रमुख चार दलको सिफरिसमा प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त हुनुभएको छ। प्रधानन्यायाधीश रेग्मीलाई राष्ट्रपति डा. रामवरण यादवले शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा शपथ ग्रहण गराउनुअघि बाधा अड्काउ फुकाउमार्फत संविधान संशोधन गरिएको थियो। 

रेग्मी नेपालको इतिहासमै पहिलो पटक बहालवाला प्रधानन्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष हुने एउटै व्यक्ति हुनुभएको छ। उहाँ सर्वोच्च अदालतमा आफ्नै विरुद्धमा परेको रिट उपर सुनुवाइ गर्नु एक घण्टाअघि मन्त्रिपरिषद्को अध्यक्ष पदमा नियुक्त हुनुभएको हो।

सिंहदरबारमा पदभार ग्रहण गर्दै अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सबैलाई निर्वाचनमा जुट्न आह्वान गर्दै सो पदमा पुर्याउन प्रमुख भूमिका निर्वाह गर्ने दलहरूप्रति आभारसमेत व्यक्त गर्नुभएको छ।

निर्धारित समयमा निर्वाचन गर्न नसके असफल व्यक्ति सर्वोच्च अदालतमा पुनः प्रधानन्यायाधीशको पद सम्हाल्न जान कठिनाइ पर्ने भएकाले उहाँलाई निर्वाचन गराउनैपर्ने बाध्यता रहेको छ। असारमा निर्वाचन गर्न निकै कम समय छ। हुन त दलहरूले सो समयमा निर्वाचन नभए पनि मंसिरमा निर्वाचन गर्ने गरी पर्खिने आश्वासन दिइसकेका छन्।

तर निर्वाचनको माहोल बन्न सकेन भने रेग्मीका दिनगन्ती शुरू हुन थाल्ने अवस्था देखिएको छ। नेकपा–माआवादीसहितका साना दलहरूले रेग्मीलाई सरकारको साँचो दिइएको विरोधमा बिहीबार अचानक नेपाल बन्द गरेका थिए।

बिहानै राष्ट्रपति कार्यालयमा पुग्नुभएका रेग्मीले बाधा अड्काउसम्बन्धी प्रस्तावहरू पनि अध्ययन गर्नुभएको थियो। बाधा अड्काउ फुकाउमार्फत संविधान संशोधन हुनासाथ राष्ट्रपति यादवले शपथ गराइहाल्नुभएको थियो। मुख्य चार दलले बुधबार मध्यरातमा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने गरी सहमति गरेका थिए। राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकारको नाम प्रस्ताव गर्न दुई महिनाअघि ९ पटकसम्म दलहरूसँग लिखित आग्रह गर्नुभएको थियो। तर त्यो प्रक्रिया सफल नभएपछि बीचैमा स्थगित भएको थियो।

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भने मुलुकलाई निकास दिन केही कदम चाल्नैपर्ने थियो भन्दै निर्वाचन पनि गर्नुपर्ने प्रमुख दायित्वलाई पूरा गर्न सबै मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ। बिहीबार बिहान राष्ट्रपति कार्यालयमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शपथ खानासाथ पूर्वमुख्य सचिव माधवप्रसाद घिमिरेलाई परराष्ट्र र गृहमन्त्रीमा र पूर्वकानुन सचिव एवम् कानुन आयोगका उपाध्यक्षसमेत रहिसक्नुभएका हरिप्रसाद न्यौपानेलाई श्रम, कानुन र संसदीय व्यवस्थामन्त्रीको शपथ खुवाउनुभएको थियो।

तत्कालका लागि अन्य सबै मन्त्रालयको जिम्मेवारी भने अध्यक्ष रेग्मीमा नै रहेको छ। प्रमुख राजनीतिक दलका नेताहरूसँग परामर्श गरेर छिट्टै बाँकी ८ जना मन्त्री नियुक्त गरिनेछ। शपथग्रहण कार्यक्रममा मुख्य राजनीतिक दलका शीर्ष नेताहरू, विभिन्न मुलुकका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए। निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय राजदूत जयन्त प्रसाद सँगसँगै राष्ट्रपतिनिवास पुग्नुभएको थियो। निवर्तमान प्रधानमन्त्री भट्टराईको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको गाडीपछाडि भारतीय राजदूत जयन्त प्रसादको गाडी थियो।

प्रधानन्यायाधीशलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको शपथग्रहण कार्यक्रमपछि बाहिरिनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मीहरूलाई कुनै पनि प्रतिक्रिया दिन मान्नुभएन। राष्ट्रपतिनिवास आउने क्रममा मुस्ताङ म्याक्स गाडी चढ्दै आएका निवर्तमान प्रधानमन्त्री भट्टराई अध्यक्ष प्रचण्डसँगै बा८च ७५८ नम्बरको गाडीमा फर्किनुभएको थियो।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुक चुनावी माहोलतर्फ गएको भन्दै यो चुनावले ठूलो अवसर प्रदान गर्ने दाबी गर्नुभयो। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। राजनीतिक दलहरूबीच ऐतिहासिक सहमति भएको दाबी गर्दै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि तोकिएको समयमा संविधानसभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो।


No comments:

Post a Comment