रोचक जानकारी


श्रीमति साटासाट – श्रीमती भगाउनेकै श्रीमती भगाइए

काठमाडौ, फाल्गुन २६ –
हेलो, तपाईं दीपक हो ?
हो, किन ?
म जितबहादुर दर्नाल, कतारबाट। किन मेरी श्रीमती लानुभा’को ?
लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा ।
यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो। वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर (गोपाल) दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन्। श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए।
भोलिपल्ट बिहान बल्ल फोन लाग्यो। श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी-९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए। आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी (जेठी) श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन सम्पर्क गरे ।

दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन सम्पर्कमा सामान्य झगडा भयो । एकले अर्कोलाई श्रीमान्-श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे । ‘कुरा हुदै जाँदा एकले अर्कोलाई स्वीकार्ने कुरा भएपछि सुशीलालाई काठमाडौं बोलाएँ र म कतारबाट नेपाल आएँ,’ जितबहादुर दर्नालले साप्ताहिकसँग भने, ‘काठमाडौंमा भेटेर पशुपतिनाथको मन्दिरमा सिन्दूरपोते गरेर हामी घर आयौं ।’ यसरी विदेशमा हुँदा श्रीमती पोइल गएपछि आफ्नै श्रीमती लाने दीपक नेपालीको उनकी श्रीमती लगेर देखाउन दिएको चुनौती जितबहादुर दर्नालले चार दिनमै पूरा गरे ।
करिब तीन किलोमिटरको दूरीमा घर भएका जितबहादुर दर्नाल र दीपक नेपालीका श्रीमती यसरी नै साटासाट भएका छन् । जितबहादुरकी पहिलेकी श्रीमतीबाट पाँच वर्षमुनिका दुई छोरी आकृति र अंशु छन् भने दीपककी सात वर्षीया छोरी दिप्ती छिन् । परिस्थितिले श्रीमान्-श्रीमती साटिए पनि छोरीहरू भने आ-आफैंसँग छन् । नयाँ जोडीसँग केही दिन काठमाडौंमा बिताएर घर आएका जितबहादुर र सुशीलाले घरमा पनि टिकाटालो गरेका छन् । कतारमै रहेका बाबु र घर परिवारसँगको सल्लाहमा सुशीलालाई विवाह गरेकाले परिवार पनि खुसी भएको दर्नालले बताए ।
सुशीलाले पहिलेको श्रीमान छाड्नुपरेकोमा कुनै दुःख नलागेको बताएकी छिन् । श्रीमान्ले अर्काकी श्रीमती ल्याएपछि आफू सोही श्रीमतीको श्रीमानसँग गएकोमा स्थानीय भद्र महिलाहरूले धन्यवाद दिँदै आएको सुशीलाले बताइन् । हेर्दा मलिन देखिए पनि दीपक र भगवतीले पनि आफूहरू खुसी रहेको बताए । आफूहरूबीच गहिरो माया बसेकैले आफ्ना श्रीमान् र श्रीमती हुँदाहुँदै विवाह गरेको यी जोडीको भनाइ छ ।
श्रीमान्ले सौताका रूपमा भगवतीलाई ल्याएको दोस्रो दिन सुशीला भगवतीका श्रीमान् जितबहादुरलाई भेट्न काठमाडौं हिँडेकी थिइन् । अर्को व्यक्तिसँग विवाहका लागि बसमा काठमाडौं हिँडेकी श्रीमती सुशीला नेपालीसँग भएको भावनात्मक फोन वार्तालाप (फोन रेकर्ड) दीपकले सुनाए । अर्काकी श्रीमतीसँग विवाह गरेपछि आफ्नी श्रीमती उम्काएका दीपक नयाँ श्रीमती र छोरीसँग औपचारिक रूपमा फोटो खिचाइरहेका बेला दीपककी आमा चन्द्रमाया नेपाली भन्दै थिइन्, ‘खै यो के देख्नुपर्‍यो ?’ यी दुवै जोडीले प्रेमपश्चात् एरेञ्ज म्यारिज गरेका थिए । एक-अर्कासँग श्रीमान्-श्रीमती साटेका यी दुवै जोडी ऋणपान आ-आफै बेहोर्ने र एक अर्कोविरुद्ध कानूनी झन्झट नबेहोर्ने मनसायमा छन् ।
श्रीमान्-श्रीमती साटिन पुगेका यी दुवै जोडी हाँसीखुसी देखिए पनि यी जोडीमा एउटा प्रतिस्पर्धा पनि सुरु भएको छ । काठमाडौंबाट आएपछि जितबहादुर दर्नालले नयाँ श्रीमती सुशीलालाई अँगालो हालेर हिँडेको देखाएपछि आफूले पनि भगवतीलाई अँगालो हालेर उनीहरूसामु हिँडेर देखाइदिएको दीपक नेपालीले बताए । जति पटक जितबहादुरले आफ्नी पहिलेकी श्रीमतीलाई अँगालो हालेर देखाउँछ उति पटक नै आफूले पनि देखाउने दीपकले बताए । जितबहादुरले भने आफूहरूले उनीहरूलाई त्यस्तो गतिविधि नदेखाएको बरु उनीहरू नै आफ्नो घर अगाडि आएर त्यस्तो क्रियाकलाप देखाउँदै आएको बताए । ‘भगवती उनको श्रीमानसँग मेरो घर नजिक आउँदा नानीहरू पछ्याउँदै रुन थाल्छन्, त्यतिबेला भने सार्‍है दुःख लाग्छ,’ -जितबहादुरले भने ।
- अर्जुन जम्नेली राई
ekantipur.com



किशोर किशोरी तथा युवाले १४ महिना मात्र प्रेम गर्दछन् : सर्वेक्षण

काठमाडौँ, ८ वैशाख । किशोर किशोरीले कति समय प्रेममा बिताउँदा होलान ? के यस्तो प्रेम विवाहमा परिणत होला त ? प्रेम मनोरञ्जनका लागि अथवा जीवनयापनका लागि ?
यी यस्ता प्रश्न १० देखि २४ उमेर समूहका किशोर–किशोरी तथा युवाका अभिभावकले कुराकानीका विषयवस्तु बनाउने गर्दछन् तर सही उत्तर पाइरहेका थिएनन् पनि ।
ती उमेर समूहले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज सार्वजनिक किशोर किशोरी तथा युवा सर्वेक्षण २०१०÷२०११ ले देखाएको छ ।

तर किशोर किशोरीहरू प्रेम विवाहमै आकर्षित भएको सर्वेक्षणले देखाएको छ । प्रेम विवाहमा ७२ र मागी विवाहमा ५३ प्रतिशत भएको सर्वेक्षणले पुष्टी गरेको छ ।
विवाह नगरी सँगै जीवनयापन गर्ने प्रतिबद्ध भएका किशोर किशोरी तथा युवाको प्रतिशत १५ देखिएको छ ।
सर्वेक्षण देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी करिब नौ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जनामा गरिएको थियो ।
प्रेम भनेको एक अर्कालाई गरिने माया हो भन्ने कुरा सानै उमेरदेखि जानकारी लिएको अन्तर्वार्तामा सहभागीहरूले उत्तर दिएका थिए । तर १७ वर्ष नभई प्रेम नगरेको सर्वेक्षणले देखाएको छ ।
एकजना किशोर किशोरी तथा युवाले लगभग दुईजनासँग प्रेम गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत युवती अविवाहित रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले पहिलो बच्चा जन्माउँदा औसत उमेर १९ वर्ष देखाएको छ ।
सर्वेक्षणका अनुसार पहिलोपटक महिनावारीमा चार प्रतिशत युवतीहरू गर्भवती भएका छन् भने घरबाट टाढा छाप्रो, अँध्यारो कोठा सात प्रतिशत र ३० प्रतिशतले अलग्गै कोठामा राखिएको देखिएको छ ।
यस्तै ९२ प्रतिशत किशोर किशोरी तथा युुवालाई एचआईभीका बारेमा जानकारी भएको, ७१ प्रतिशतलाई निःशुल्क स्वास्थ्य सेवाबारे जानकारी भएको सर्वेक्षणमा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्र र जनसङ्ख्या महाशाखाका प्रमुख पद्मराज भट्टले सो सर्वेक्षण आज सार्वजानिक गर्नुभएको थियो । रासस

No comments:

Post a Comment