अर्थवाणिज्य

काठमाडौ, कार्तिक २८ -
व्यवसाय संकटमा परेको भनिए पनि राजधानीका क्यासिनोको व्यवस्थापन लिन स्थानीयदेखि विदेशी लगानीकर्ता धमाधम यस क्षेत्रमा आउन खोजिरहेका छन् । व्यवसायीको हानथापले हल्ला गरिएजस्तो व्यवसाय संकटमा छैन भन्ने देखाएको छ । प्रतिकूल वातावरणका कारण लगानी हुन नसकेको समयमा क्यासिनोमा लगानी गर्न विदेशी लगानीकर्तासमेत आकषिर्त देखिएका छन् ।

राजस्व र होटलको ब्ाक्यौताका साथै कर्मचारीको दायित्वबापत ठूलो रकम तिर्न बाँकी रहेको क्यासिनोमा समेत लगानीकर्ताबीच हानथाप चलेको छ । विवादमा रहेका सोल्टी, एभरेस्ट र ह्यात होटलका क्यासिनो हालै नयाँ व्यवस्थापनले लिएको छ । सोल्टीस्थित मुलुककै पुरानो क्यासिनो नेपाल विनोद श्रेष्ठ, विनय साह, हेमन्त कटाक्षपती र मनोज सुवेदी सेयरहोल्डर रहेको माजोङ इन्टरनेसनलले लिएको छ । ह्यातको क्यासिनो तारा र एभरेस्ट क्यासिनोमा किशोर सिलवाल नेतृत्वको कम्पनी भ्याली लिंकले बाजी मारेको छ । यहाँ दर्ता गरिएको माजोङ इन्टरनेसनलमा सेयरहोल्डर नदेखिए पनि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका छोरा विकास पनि साझेदार रहेको भनिएको छ । विनोदले विकासको साझेदारीमा सिक्किममा माजोङ होटल तथा क्यासिनो चलाइरहेका छन् । नयाँ व्यवस्थापनले झन्डै दुई वर्षदेखि बन्द रहेको क्यासिनो नेपाल एक महिनाभित्र चलाउने तयारी गरिरहेको छ । यो समूहले एभरेस्ट क्यासिनोको व्यवस्थापन पनि लिन प्रयास गरेको थियो । सिलवालले हालै व्यवस्थापन लिएको क्यासिनो तारा र एभरेस्टमा मलेसिया र बंगलादेशको समूहले साझेदारी गर्न चासो देखाएका छन् । क्यासिनो सांगि्रला सञ्चालन गरिरहेको मलेसियाको स्टार म्यानेजमेन्टले क्यासिनो नेपाल लिन प्रयास गरेको थियो ।

लगानीमा आकर्षण देखिए पनि नेपाली ग्राहकलाई लुकिछिपी छिराएर नाफा कमाउनु लगानीकर्ताको लक्ष्य रहेको क्यासिनोमा लामो समय बिताएका एक कर्मचारी बताउँछन् । कडाइ गरेको भनिए पनि क्यासिनोले 'राम्रा जुवाडे' स्वागत गर्न छाडेका छैनन् । प्रहरीले सोमबार राति क्यासिनो अन्ना -अन्नपूर्ण) मा छापा मार्दा १३ नेपाली जुवाडे फेला परेका थिए । व्यवसायीले नेपालीको प्रवेशलाई वैधता दिलाउने प्रयास पनि जारी राखेका छन् ।

वर्तमान राम्रो नभए पनि भविष्य उज्जवल देखेर विदेशीले पनि क्यासिनोमा लगानी गर्न चासो देखाएको सिलवाल बताउँछन् । अस्वस्थ्य प्रतिस्पर्धाले व्यवसाय नै संकटमा परेकाले आफूले धेरै क्यासिनोको व्यवस्थापनमा रुचि देखाएको सिलवालको तर्क छ । 'आजको दिनमा क्यासिनो नाफाको व्यवसाय होइन,' उनी भन्छन्, 'तर अस्वस्थ्य प्रतिस्पर्धा रोकेर व्यवसाय जोगाउन सकिन्छ भनेर बढी क्यासिनो चलाउन खोजिएको हो ।' सरकारले क्यासिनो नियमन गर्ने कानुन जारी गरी प्रहरीको अनावश्यक हस्तक्षेप रोक्ने हो भने अहिले पनि नेपाली क्यासिनोमा भारतीय, बंगलादेशी र चिनियाँ ग्राहक आकषिर्त गर्न सकिने सम्बद्ध व्यवसायी बताउँछन् । मकाओपछि एसियामा क्यासिनो भित्र्याउने नेपाल दोस्रो मुलुक हो । सन् १९६६ -४६ वर्षअघि) क्यासिनो नेपाल सञ्चालनमा आएको हो । 'यति पुरानो इतिहास बोकेको क्यासिनोलाई धराशायी बनाउन हुँदैन,' सिलवाल भन्छन् ।

पहिलो क्यासिनो सञ्चालनमा आएको आधा शताब्दी पुग्न लागेपनि मुलुकमा एकपछि अर्को क्यासिनो खुलेको २०४८ सालको उदारीकरण पछि मात्र हो । अहिले मुलुकका सबै पाँचतारे होटलले क्यासिनो सञ्चालनको इजाजत लिएका छन् । तर अहिलेसम्म क्यासिनो इजाजतपत्रमा उल्लेख हुने सर्त नै क्यासिनो सञ्चालनको कानुन हो । संसदको सार्वजनिक लेखा समितिले नियमनका लागि निर्देशिका बनाउन सरकारलाई निर्देशन दिएको दुई वर्ष बिते पनि निर्देशिका आउन सकेको छैन । सर्तसहित नेपाली नागरिकलाई प्रवेश दिने पर्यटन मन्त्रालयको प्रस्तावमा अर्थ सहमत नभएपछि निर्देशिका अलपत्र परेको छ ।

क्यासिनो व्यवसाय फस्टाएकै कारण दक्ष व्यवस्थापन र कामदार उत्पादन भएको छ । सिक्किममा चलेका दुई क्यासिनोमा यहाँका व्यवसायी साझेदार छन् । सिलवालले भारतका पूर्वसभासद मणीकुमार सुब्बाको साझेदारीमा सिक्किममा क्यासिनो चलाइरहेका छन् । विनोद श्रेष्ठले विकास चाम्लिङसँग मिलेर अर्को क्यासिनो चलाइरहेका छन् । यस्तै गोवाका क्यासिनोहरूमा थुप्रै नेपाली कामदारले रोजगारी पाएका छन् ।

क्यासिनो भित्र्याउने अमेरिकी नागरिक आरडी टटलको लामो समय यहाँको क्यासिनोमा एकछत्र राज गरेका थिए । पछि उनले नै वित्त नियन्त्रकको रूपमा ल्याएका भारतीय नागरिक राकेश बाध्ावाको क्यासिनोमा नियन्त्रण रह्यो । तर अहिले क्यासिनो व्यवस्थापनमा स्थानीयकै वर्चश्व कायम भएको छ । विदेशीको व्यवस्थापनमा एक मात्र सांगि्रला क्यासिनो छ । सिलवालकै हातमा ५ क्यासिनो पुगेका छन् । 

No comments:

Post a Comment