खेलकुद


जोनापुर -कैलाली, कार्तिक २८ -
परम्परागत थारू गाउँ । छेउको जंगल किनारमा उबडखाबड चौर । सूर्य पश्चिम ढल्किँदो थियो । तर, चौरमा दुई समूह बनाएर फुटबल प्रशिक्षण लिइरहेका थारू किशोर/किशोरीहरू थाकेका थिएनन् । 'को भन्दा को कम' शैलीमा उनीहरू एकआपसमा भिडिरहेका थिए । 'यस्तो कुनै एक साँझ हुँदैन,' प्रशिक्षक गोपाल चौधरीले भने, 'नियमित रूपमा समूह बनाएर प्रशिक्षण दिने गरिएको छ ।'

प्रत्येक दिन दिउँसो ४ बजे श्रीपुर-९ जोनापुरको यो आदिवासी थारू बस्तीका २७ किशोर र २१ किशोरीहरू गाउँले चौरमा भेला भएर प्रशिक्षणमा जुट्छन् । धनगढीबाट पूर्व-उत्तर ७ तथा पूर्व-पश्चिम राजमार्गको स्याउँलेबाट ३ किलोमिटर दक्षिणको उक्त गाउँ पछिल्लो समय फुटबलले चिनिन थालेको छ । थारू समुदायका २ सय ४० घरधुरी रहेको जोनापुरका स्कुल पढ्ने उमेरका सबै घरका सदस्य फुटबल सिक्न थालेको प्रशिक्षक चौधरीले बताए ।

अखिल नेपाल फुटबल संघ

-एन्फा) ले कलिलो उमेरदेखि नै फुटबल सिकाउन 'ग्रास रुट कोर्स' अवधारणा ल्याएको धेरै समय भइसक्यो । तर, उक्त अवधारणा लागू गर्न फुटबल पश्चिम एन्फा लगानीको एउटा पनि एकेडेमी छैन । यस्तोमा व्यक्तिगत लगानीमा ०६४ सालमा खोलिएको साइनिङ सन् फुटबल एकेडेमीले युवा- युवतीलाई प्रशिक्षण दिन थालेको हो । एकेडेमीका उत्पादनहरू क्षेत्रको टिममा पर्न थालेपछि गाउँमा फुटबल 'क्रेज' ह्वात्तै बढेको छ ।

एकेडेमीका उत्पादनहरू पछिल्लो समय पश्चिमको महिला फुटबलको प्रतिनिधित्व गरिरहेका छन् । केही महिनाअघि बाराको सिमरा र रौतहटमा सम्पन्न एनसेल राष्ट्रिय महिला फुटबलमा कैलाली टिमका झन्डै सबै खेलाडी यसै एकेडेमीका थिए । '१५ जना हाम्रो एकेडेमीका तथा तीन जना बाहिरका थिए ।' एकेडेमीका कोषाध्यक्ष समेत रहेका चौधरीले भने, 'पुरुषमा पनि राम्रो सम्भावना भएका खेलाडी छन् । तर, छनोटमा काखापाखाको व्यवहार गर्ने गरिएको छ ।' एनसेल कपमा कैलालीले सबैलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

तर, त्यहाँ उसको तगारो अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब भयो । एकेडेमीका कलिला खेलाडी सम्मिलित कैलालीले ४-० ले चुनौती पन्छाएको थियो । तत्कालको परिणाम आफ्नो पक्षमा नआए पनि नियमित प्रशिक्षण पाएमा आगामी दिनमा सकारात्मक परिणाम निस्कनेमा एकेडेमी सञ्चालक ढुक्क छन् ।

पूर्व फुटबल खेलाडी भरत थापा एकेडेमीमा लगानी गरिरहेका छन् । व्यवसायका सिलसिलामा जोनापुर आएका उनले, गाउँमा फुटबल 'क्रेज' देखेपछि स्थानीय गाउँलेसँग मिलेर एकेडेमी सञ्चालन गरेको बताए । आफन्त र फुटबल शुभचिन्तकहरूको सहयोगमा जेनतेन चलाइरहेको उनको भनाइ छ । 'छोटो समयमै नेपाली खेलकुदमा विभागीय टोलीसँग टक्कर दिन खेलाडी सक्षम भएका छन्,' उनले भने । त्यसअघि छैटौं राष्ट्रिय खेलकुदमा पनि महिला तर्फ एकेडेमीकै खेलाडीको बर्चस्व थियो । त्यसमा १४ जना परेका थिए ।

नियमित प्रशिक्षण जारी भए पनि राम्रो प्रशिक्षक र मैदान नहुँदा समस्या भएको खेलाडीको गुनासो छ । जंगल किनारको ऐलानी जग्गा सम्याएर मैदान बनाइएको छ । त्यो पनि उबडखाबड हुँदा खेल्न जहिल्यै समस्या हुने गरेको खेलाडी निर्मला चौधरीले बताइन् । प्रशिक्षणमा सहभागी मध्ये ५ जना क्याम्पस पढ्ने छन् । अरू सबै माध्यमिक स्तरमा पढ्छन् । पढाइ प्रभावित नहुने ढंगले प्रशिक्षण लिइरहेको खेलाडीहरूले बताए ।

No comments:

Post a Comment