इलाममा छैन चुनावको रौनक

बिनम लिम्बु 

५ असार, इलाम । पुर्वी नेपालको इलाम नेपाली राजनीतिमा महत्वपूर्ण जिल्ला मानिन्छ । गत संविधानसभामा इलाम क्षेत्र नं.१बाट जीतेका झलनाथ खनाल, २ नं.बाट जीतेका सुवासचन्द्र नेम्वाङ र ३ नम्बरबाट जीतेका केवी गुरुङ नेपाली राजनीतिको केन्द्र विन्दुमै रहे । नेम्बाङ संविधानसभाका अध्यक्ष भए, खनाल देशका प्रधानमन्त्री । तर खिलाराज रेग्मीको चुनावी सरकारले घोषणा गरेको संविधानसभाको दोस्रो निर्वाचनको रौनक देखिंदैन इलाममा । 





चुनाव घोषणा भएपनि स्थानीयवासी चुनाव हुनेमा अझै विस्वस्त छैनन् । नेपाली काँग्रेस, एमाले र एमाओवादी चुनावकालागि तयार रहेको बताउँछन् । नेकपा-माओवादी, संघिय समाजवादी तथा संघीय लिम्बुवान राज्य परिषद लगायतका दल कुनै हालतमा चुनाव हुन नदिने योजना रहेको सुनाउँछन् । नेकपा-माओवादीका जिल्ला सेक्रेटरी राज राई चार दलले मात्र चाहेर चुनाव नहुने बताउँछन् । उनले भने ‘सरकारले घोषणा गरेको चुनावको घोषणा होइन युद्धको घोषणा हो ।’




स्थानीय बुद्धिजीवि धर्म गौतमलाईपनि चुनाव होला भन्नेमा पुरा विस्वास छैन । उनले इलाममा चुनावको कुनै रौनक नै नआएको बताए । भन्छन् ‘चुनाव हुने र नहुने भन्ने कुरा एमाओवादीमा भर पर्छ । मेरो विचारमा बाहिर हुन्छ भनेपनि भित्री रुपमा प्रचण्ड नै चुनाव चाहँदैनन् ।’ उनले कारण बताए ‘एक त माओवादीको दर्शन र नीति नै चुनाव होइन, अर्को चुनाव हुँदापनि एमाओवादी पहिलाको स्थानमा आउँदैन ।’
इलामका सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे चाहिं सरकारले चुनाव गरे इलाममा कुनै समस्या नभएको बताउँछन् ।






No comments:

Post a Comment