
प्रबल गुरुङले न्युयोर्कमा बसेर फेसन डिजाइन गरे पनि ग्राहकहरूलाई उनी नेपाली हुन् भन्ने जानकारी थिएन जब उनले अमेरिकी राष्ट्रपति बाराक ओवामाकी श्रीमती मिसेल एव चर्चित हलिउड नायिकाहरूको पहिरन डिजाइन गरे, सञ्चारमाध्यममार्फत उनको चर्चा हुन थाल्यो। यही मेसोमा उनले आफू नेपाली भएको बताउन चुकेनन्। प्रबलका बुवा पोखराबाट बि्रटिस गोर्खा सैनिकमा भर्ती भएर सिंगापुर प्रहरीमा जागिर खान पुगेका थिए। बुबाको राम्रो आम्दानीका कारण प्रबलले चाहेजस्तो शिक्षा लिन पाए। उनले ललितपुरको सेन्ट जेभियर्समा विद्यालय तह सकेर दिल्लीमा फेसन डिजाइनसम्बन्धी कोर्स गरे। त्यसपछि बलिउडका चर्चित डिजाइनर मनीष मल्होत्राको सहायक भएर काम गरेका प्रबल अन्तत अमेरिकाको न्युयोर्क पुगे। त्यहाँका करोडपति व्यवसायीहरूको पहिरन डिजाइन गर्दा-गर्दै उनी हलिउडका कलाकारको आँखामा पर्न थाले। अहिले उनी अमेरिकाका मात्र होइन, विश्वकै चर्चित फेसन डिजाइनरमध्ये एक मानिन्छन्। 'अहिले प्रवलको पहिरन लगाउन तीन महिनासम्म पालो पर्खनुपर्छ।' अमेरिकाको चर्चित फेसन म्यागेजिन 'भाउ' लेख्छ, 'प्रवल विश्वकै चर्चित डिजाइनर हुन्।'

नेपालमा बसेर विदेशमा ख्याति
नेपाली फेसन उद्योगमा न त 'विश्वज क्रिएसन' को नाम सुनिन्छ, न त यसका प्रमुख विश्व गौतमको। यद्यपि भर्खरै ३१ वर्ष टेकेका यी युवा युरोप-अमेरिकी फेसन कम्पनीका लागि आवश्यक नाम हो। गौतमले डिजाइन गरेका पहिरन प|mान्स तथा अमेरिकी बजारमा हातहातै बिक्री हुन्छन्। नमुना फेसन कलेजबाट फेसन डिजाइनिङमा स्नातक गरेको केही वर्षमै उनले सयौंलाई रोजगारी दिने गरी गार्मेन्ट उद्योग चलाएका छन्। चितवन तोरीखेतका गरिब किसानका छोरा विश्व विदेशी बजारमा पाँच वर्षमै विकाउ डिजाइनर बनेका हुन्। एक जना पश्चिमी विद्वान्ले भनेका छन्, 'यदि तिमीले रुचिको काम थाल्यौ भने जीवनभरि काम गर्नुपर्दैन, किनभने त्यो काम रहँदैन, आनन्द बन्न पुग्छ।' ताहाचलस्थित उनको 'विश्वज क्रिएसन' मा पुग्दा विश्व पनि ती विद्वान्ले भनेझैं कपडाको चाङमा त्यसैगरी आनन्दले झुमिरहेको अवस्थामा भेटिए।
विश्वले डिजाइन गरेका पहिरनहरू पाँच वर्षयता प|mान्स, स्पेन, इटलीदेखि अमेरिकासम्म पुगेका छन्। उनी आफ्ना पहिरनमा मेड इन नेपाल बाइ विश्व गौतम लेख्न बिर्संदैनन्। यसले नेपाल नचिन्ने ग्राहकले पनि नेपाली पहिरन चिनिरहेको उनको दाबी छ। अमेरिकामा लोकपि्रय भएपछि उनले पछिल्लो गन्तव्य क्यानाडालाई बनाएका छन्। एक महिनाअघि भ्यानकोभर फेसन एक्पोमा भाग लिएर फर्किएका गौतमका डिजाइनबाट प्रभावित स्थानीय फेसन प्रेमीहरूले स्थानीय आउटलेटहरूमा विश्वज क्रिएसनको कलेक्सन राख्ने व्यवस्था मिलाएका छन्। 'विश्वका नामुद डिजाइनरहरूका बीचमा आफ्नो पहिरन स्थापित गर्न पाउनु ठूलो कुरा हो।' साप्ताहिकसँगको भेटमा विश्वले भने, 'युरोप अमेरिकामा पहिले वाषिर्क १ लाख थानको अर्डर थियो, अब त्यो बढ्ने सम्भावना छ।'
उनी मिस नेपालको फेसन डिजाइन गर्ने प्रमुख डिजाइनरमध्ये एक हुन्। सबैजसो मिस नेपाल, नायिका एवं गायिका उनको डिजाइन अन्तर्राष्ट्रिय स्तरको भएको विश्वास गर्छन्। विश्वले नमुना फेसन कलेजमा अध्ययन गरेका थिए। त्यो बेला कलेजको फि तिर्न कलेज छाडेर गिजर मेकानिकको काम गर्नुपथ्र्यो। 'म फि तिर्नका लागि दिनभर गिजर जडान गर्थे।' आजको सफलता पुरानो दुःखको परिणाम हो भन्ने मान्यता राख्ने विश्व भन्छन्, 'म जुन दिन कलेज जान्थें, त्यही दिन छुटेका पाठहरू शिक्षकहरूको सहयोगमा पूरा गर्थे। साथीहरूसँग आफूले गरिबीकै कारण कलेज जान नसकेको कुरा गर्न गाह्रो हुन्थ्यो। '
आज कलेज सकेको ६ वर्षमै उनले २ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन्। चन्दा माग्ने राजनैतिक संस्कृति एवं दक्ष कामदारको अभावका कारण विदेशबाट आएका सबै अर्डर समयमै दिन नसकेकोमा उनी दुःखी छन्।
विश्व जस्तै नेपालमै बसेर विदेशमा नाम कमाउने डिजाइनरमध्ये विवेक उपाध्याय पनि एक हुन्। विश्वले आफ्ना उत्पादन सीधै युरोप-अमेरिका पुर्याउँछन्। विवेकले आफ्नो उत्पादनलाई भारतीय सहरमा पनि विस्तार गरेका छन्। गत वर्ष उनको पहिरन भारतीय टेलिभिजन कलर्सको प्रशिद्ध कार्यक्रम 'झलक दिखलाजा' मा माधुरी दीक्षितले लगाएपछि उनको सार्वजनिक चर्चा भएको थियो।
विवेकले डिजाइन गरेका पहिरन लगाउने माधुरी दीक्षित बलिउडकी पहिलो सेलिब्रेटी होइनन्। यसअघि ऋषि कपुरकी छोरी रिदिमा कपुर तथा चर्चित अभिनेत्री काजोलले पनि उनका पहिरन लगाइसकेका छन्। पहिरनमा निकै चुजी माधुरीले 'झलक दिखलाजा' को फाइनल एपिसोडमा पनि विवेककै पहिरन लगाएकी थिइन्। त्यति मात्र होइन, विश्वकै सुन्दर महिलामा दरिएकी ऐश्वर्या राय बच्चनले छोरी जन्मिएपछिको पहिलो औपचारिक कार्यक्रममा पनि विवेकको पहिरन लगाएकी थिइन्। विवेकले आफ्नो पहिरन पञ्जाबी मूलकी डिजाइनर अञ्जुल भण्डारीसँग मिलेर बनाउने गरेका छन्।
मुम्बईमा तरुन तहलानी, रोहित वाली, अनामिका खन्ना, अञ्जु मोदीहरूलाई उच्चकोटिका डिजाइनर मानिन्छ। अहिले चल्तीका हिन्दी चलचित्र एवं टेलिश्रृंखलाहरूमा उनीहरूकै वर्चस्व छ। यी डिजाइनरलाई चुनौती दिन युरोप-अमेरिकामा फेसन डिजाइन पढेर फर्किएका हजारौं डिजाइन आफूलाई स्थापित गर्न डटेर लागेका छन्। यद्यपि मुम्बईको फिजा बुटिकमा विवेकको पहिरन अर्डर गर्ने सेलिब्रेटीहरू एक दुई होइन, दर्जनौं पुगिसकेका छन्। ऋतिक रोसनकी सासु जरिन खानले सञ्चालन गरेको फिजा बुटिक विश्वकै प्रसिद्ध बुटिकमध्ये एक मानिन्छ। फेसन टेलिभिजनले सञ्चालन गर्ने विशेष शोहरूमा पनि यहीँबाट पहिरन जान्छ। यही फिजा बुटिकमा विवेकका डिजाइनले महत्वपूर्ण स्थान पाएका मात्र छैनन्, यहीँबाट बलिउडका हस्तीहरूले उनको पहिरन अर्डर गरिरहेका छन्।
नेपाली फेसनलाई जापानमा चिनाउने प्रयास गरिरहेका अर्का डिजाइनर हुन्, राजेश धाख्वा। पुस्तैनी रूपमा कपडाका व्यापार गरिरहेका धाख्वा परिवारले नातिसम्म आउँदा यसलाई कलाको रूप दिएको छ। तीनपटक मिस नेपालको आधिकारिक ड्रेस डिजाइनरका रूपमा अनुबन्धित भएका धाख्वा ७ वर्षयता जापानमा नेपाली पहिरन चिनाउन प्रयासरत छन्। प्रत्येक वर्ष टोकियोमा हुने फेसन शोमा नेपाली पहिरन प्रस्तुत गर्ने धाख्वाले त्यहाँ ८ वटा फेसन शो गरेका छन्। सन् २००१ मा उनले पहिलो अन्तर्राष्ट्रिय एकल प्रदर्शनी गरेका थिए। विदेशमा नेपालीले यसरी फेसन शो गर्नुलाई महत्वपूर्ण मानिन्छ। 'मिस नेपाल जस्तो प्रतिस्पर्धामा नेपाली फेसन डिजाइनरहरूका पहिरन विश्व प्रतिस्पर्धामा पुग्छ।' धाख्वा भन्छन्, 'यसैबाट हाम्रो भाग्य खुल्दै गएको छ। उनी आफूले नेपालमा होइन, अन्तर्राष्ट्रिय बजारका लागि प्रतिस्पर्धा गरिरहेको बताउँछन्।
यसबाहेक अर्सिया बानो, अनु श्रेष्ठ, उत्तम बनेपाली, खुश्बु डंगोल र नीलिमा शर्माले पनि नेपाली पहिरन अन्तर्राष्ट्रिय जगतमा पुर्याउने प्रयास गरिरहेका छन्। १५ वर्षदेखि फेसन डिजाइनिङ गरिरहेका उत्तम बनेपालीले बि्रटिस गोर्खाका पहिरन तयार गर्दा गर्दै बेलायतमा चर्चित भएका हुन्। 'बि्रटिस सेनाका दाजुभाइहरूले बेलायती नागरिकलाई सिफारिस गर्नुभयो।' धरानमा जन्मिएका बनेपाली भन्छन्, 'नेपाली परम्परागत पहिरनलाई आधुनिक शैलीमा फ्युजन गरेका कारण त्यहाँ लोकपि्रय भएको हो।'
नीलिमा फेसन स्टुुडियोको नाममा खुलेको नीलिमा शर्माको फेसन स्टोरले पनि बेलायत, अमेरिका र अस्ट्रेलियामा नेपाली पहिरन पठाउने गरेको छ। 'यद्यपि मेरा नयाँ र ठूला ग्राहक बंगलादेशी तथा अरेबियनहरू हुन्।' नीलिमा भन्छिन्, 'अरेबियनहरूको आफ्नो परिहनको प्रचार आफै गर्ने बानीका कारण मेरा ग्राहक बढेका हुन्। 'के यो माया हो, भिजिलान्ते जस्ता दर्जनौं चलचित्रमा फेसन स्टाइलिस्टको काम गरेकी नीलिमाले हालै भुटानी शरणार्थीका विषयमा बनेको चलचित्रमा काम गरेकी थिइन्। उक्त चलचित्रमा प्रयोग भएका नेपाली शैलीका पहिरनका कारण पनि विदेशमा उनको माग ह्वात्तै बढेको बताइन्छ।
युक्ता श्रेष्ठ

विश्व गौतम

विवेक उपाध्याय

प्रबल गुरुङ

No comments:
Post a Comment