इतिहासमै पहिलो महिला प्रहरी प्रमुख ..

२९ कार्तिक २०७० का दिन प्रहरी महानिरीक्षक कुवेर सिं राना मगर सहित चार जना एआईजी नवराज ढकाल, गंगा पाण्डे, पुस्कर रेग्मी तथा रमेश विक्रम शाह ३० वर्षे अनिवार्य अवकाशका कारण अवकाश हुदैछन् भने एआईजी विनोद सिंह असोज २६ गते २०७० मा सेवानिबृत हुदैछन् । प्रश्न उठ्छ त्यस पश्चात् नेपालको आगामी जनपद प्रहरी महानिरिक्षक पुरुष हुने कि महिला ? 

अमरदिप मोक्तान

ज्येष्ठता, कार्यदक्षता र कार्यकुशलतालाई प्राथमिकता दिने हो भने गणतन्त्र नेपालको प्रथम प्रहरी महानिरीक्षकको रुपमा पार्वती थापा मगर त्यो पदको हकदार हुन् । केही पार्टीका मूखपत्र पार्वती थापालाई कुनै पनि हालतमा प्रहरी महानिरीक्षक बन्न दिनु हुन्न भनि समाचार संप्रेषण गरिरहेका छन् भने प्रहरी बृत भित्रका तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रका ठूला लवीे पनि जोरदार तरिकाले लागि परेको सुनिन्छ । आगामी प्रहरी महानिरीक्षक हुनबाट पार्वती थापा लाई रोक्ने आधार के ? कानुनको कुन मापदण्डले पार्वती थापालाई, प्रहरी महानिरीक्षक बन्न रोक्न सक्छ ? कानुनतः प्रहरी महानिरीक्षक हुन सक्ने सबै कुरोले परिपूर्ण पार्वती थापालाई यदि प्रहरी महानिरीक्षक बनाइएन भने राज्यको महिला तथा आदिवासी निती प्रतिको पूर्वाग्रही मानसिकता स्पष्ट रुपले जनता सामू उजागर हुनेछ । कानुनी राज्यको दुहाई दिने राष्ट्रमा आफ्ना नागरिक प्रति दोहोरो मापदण्डको कानुन हुनु हुदैन तथा त्यस्ता पूर्वाग्रही सोचको अन्त हुन जरुरी छ ।
आगामी प्रहरी महानिरीक्षकको रुपमा महिलाबाट पार्वती थापाको नियुक्तिले गणतन्त्र नेपालको सौन्दर्यमा एक नयाँ आभूषण थपिने छ तथा राज्यका लागि यो ठूलो अवसर पनि हो । नेपालको आधा भन्दा बढी जनसंख्या ओगटेको महिला शक्तिको सशक्तिकरणको संदेश प्रवाह गर्नका लागि पनि पार्वती थापाको प्रहरी महानिरीक्षकमा नियूक्ति प्रति कुनै अवरोध आउनु हुदैन । पार्वती थापाको प्रहरी कार्यकाल हेर्ने हो भने पनि उनी आफ्ना पुरुष समकक्षी भन्दा कुनै पनि दृष्टिकोणले कमजोर सावित भएकी छैनन् । पार्वती थापाको नियूक्तिले महिला अधिकार बारे उठेका आवाजप्रति राज्य संवेदनशिल भएको कुरा संबोधन हुने देखिन्छ ।
नेपालका ठूला राजनैतिक दलहरुले दोश्रो संविधान सभाको चुनावमा आफ्ना घोषणापत्रमा महिलालाई सबै क्षेत्रमा बराबरीको अधिकार प्रदान गर्ने निश्चित रुपमा वकालत गर्नेछन् भन्ने बुझिन्छ, तर वकालत घोषणापत्ररुपी कागजमा मात्रै सीमित हुने हो वा कार्यान्वयन पक्षमा पनि लागू हुने हो हेर्न बाँकी छ । विगतमा राम्रालाई भन्दा पनि हाम्रालाई प्रहरी महानिरीक्षक बनाउन जुन प्रकारले कानुनको धज्जि उडाउने कुत्सित कार्य भएको छ त्यस्ता कार्यको पुनराबृत्ति हुनु हुदैन ।
पार्वती थापा प्रहरी महानिरीक्षकमा नियूक्ति नहुनुपर्ने कुनै कानुनी आधार देखिदैन तर पनि नेपालको कानुन दैवले जानुन् भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न । कानुनी तथा ज्येष्ठताको आधारमा प्रहरी महानिरीक्षकको नियूक्तिको परम्परा अनुसार पार्वती थापा आगामी प्रहरी महानिरीक्षक हुनुपर्ने प्रवल दावेदार हुन् तर यदि कुनै राष्ट्रिय तथा अन्तराष्र्टि«य स्वार्थका निमित्त पार्वती थापाको नियूक्तिको पक्षमा अवरोध अपनाइयो भने जातिय, क्षेत्रिय, लिङ्गिय, वर्गीय उत्थानको नाराको घोर उपहास हुनेछ । विकसित राष्ट्र भनि विश्व मानचित्रमा स्थापित भएका देश नारी प्रति भेदभाव रहित भएको कारणले विकसित भएको देखिन्छ भने अविकसित राष्टको सूचिमा दर्ज भएका देशको स्थिति हेर्ने हो भने त्यहाँ महिला माथि आदिम युगको न्याय तथा कानुनी प्रणाली अपनाइएको देखिन्छ । नेपालमा जति पनि परिवर्तनका ठूला कुरा गरिएता पनि व्यवहारमा महिलालाई दोयम दर्जा तथा दासीको रुपमा हेर्ने दृष्टिकोणमा रति भर परिवर्तन नआएको कारण नै महिला पछाडि परेका हुन् ।
नयाँ नेपालका नारा शब्दमा मात्रै सीमित हुनु हुदैन, नयाँ नेपाल जातिय, क्षेत्रिय, वर्गीय, लिङ्गिय उत्थान तथा समान अधिकारले प्रतिबिम्वित हुनु पर्दछ, तव मात्रै नयाँ नेपालको नारा साकार हुनेछ । गोरा जाति बाहुल्य भएको देश अमेरिकामा जहाँ कुनै समय काला वर्णका जाति दोयम दर्जाका नागरिक तथा दास हुने गर्दथे आज अमेरिकाको राष्ट्रपतिमा प्रथम पटकको कार्यकाल सिध्याएर दोश्रो कार्यकालको लागि अमेरिकी राष्ट्रपतिको रुपमा काला वर्णका बाराक ओबामा शोभायमान छन् । छिमेकी राष्ट्र भारतको लोकप्रिय प्रधानमन्त्रीे नामको सुचीमा स्व. श्रीमति इन्दिरा गान्धी अग्रस्थानमा छिन् । त्यस्तै प्रतिभा पाटील प्रथम महिला राष्ट्रपतिको रुपमा शोभायमान भइन् । वंगलादेशको प्रधानमन्त्रीको रुपमा हसिना वाजेद प्रधानमन्त्रीको रुपमा विद्यमान छन् भने वेगम खालेदा जियाले पनि प्रधानमन्त्रीको स्थान बनाउन सफल भएकी थिइन् । कट्टरपन्थले त्रस्त देश पाकिस्तानमा समेत लोकप्रिय प्रधानमन्त्रीको रुपमा स्व. वेनजीर भुट्टो सफल भइन् । सवै तर्फबाट शत्रुबाट घेरिएको जहाँ कुनै पनि केही ठूलो युद्ध हुन सक्ने देश इजराइलको आदरणीय प्रधानमन्त्रीको नाम लिइदा गोल्डा मायरको नाम अग्रपंक्तिमा राखिन्छ । ब्रिटेनको लोकप्रिय प्रधानमन्त्रीको नाम लिइदा मारग्रेट थ्याचरलाई ब्रिटेन बासीले कहिले पनि भुल्ने छैनन् । माथि उल्लेखित समानताका उदाहरण नेपालमा कार्यन्वयन भए मात्र नेपाल एक सबल तथा शक्तिशाली राष्ट्र बन्न सक्छ ।
महिला प्रहरी जवान सुन्तली धामी माथि आफ्नै पूरुष समकक्षी द्वारा गरिएको प्रताडना तथा दुव्र्यवहार विरुद्ध तात्कालिन मध्य पश्चिम क्षेत्रमा कार्यरत डिआइजि पार्वती थापाले आफ्नो पद समेतको परवाह नगरि सुन्तली धामीलाई न्याय दिलाएर छाडिन् । सुन्तली धामी प्रकरणमा तात्कालिन गृमहन्त्री भिम रावलले सुन्तली माथि भएको अन्यायलाई ढाकछोप गर्ने प्रयत्न गरेको कुरा सर्वविदित छ । गृहमन्त्री समेत संग नारी अन्याय विरुद्ध आवाज बुलन्द गर्ने पार्वती थापा नै थिइन् । यदि पार्वती थापाको स्थानमा कुनै पूरुष प्रहरी अधिकृत भएको भए संभवतः सुन्तली माथि भएको अन्यायका कुरा हमेशाका लागि जमिन मुनि दफन गरिन्थ्यो होला । अव आउने दिनहरुमा महिला सशक्तिकरण तथा सम्मानका कुरा शब्दमा मात्र होइन, छातीमा हात राखेर सत्यताका साथ कार्यान्वित गरिए निश्चित रुपमा नयाँ नेपाल, स्वर्णिम नेपाल, शक्तिशाली नेपाल, सवल नेपालमा परिणत हुन सक्छ । समय नजिकिदो छ गणतन्त्र नेपालको प्रथम महिला जनपद प्रहरी महानिरक्षिकको रुपमा पार्वती थापाको ऐतिहासिक नियुक्ति हेर्न नेपाली जनता उत्सुक छन् । न्यायमूर्तिबाट प्रधानमन्त्री बन्न सफल खिलराज रेग्मीद्वारा पार्वती थापालाई आगामी जनपद प्रहरी महानिरीक्षकमा नियुक्ति गरि आधा आकाश ढाकेका महिलाको मनोबल उच्च बनाउन न्याय गर्ने हुन् वा चिर पुरातन शैलीमा नियुक्तिमा अवरोध गरेर गणतन्त्र नेपालको सौन्दयृमा कालो दाग लगाउने हुन् । नेपाल प्रहरीको स्वर्णिम इतिहासमा महिला प्रहरी महानिरीक्षकको नियुक्ति गरेर स्यावासी लिने हुन् वा नियुक्ति नगरेर महिला प्रति भेदभावको निती अनुशरण गर्ने हुन् ,खिलराज मन्त्रीमण्डलको निम्ति अग्नि परिक्षाको समय नजिकिदै छ ।

No comments:

Post a Comment