संघीयता र चुनावबाट पछि हट्दिनँ ः कोइराला.....




संघीयता र वैशाखमा निर्वाचन गर्ने प्रतिबद्धताबाट आफू र आफ्नो पार्टी पछि नर्फकने जनाउँदै कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी र मधेसी मोर्चालाई विश्वस्त हुन आग्रह गरेका छन् । सत्तारूढ दुवै शक्तिले संघीयता र वैशाखमा निर्वाचन गराउनेमा शंका व्यक्त गर्दै कांग्रेस र कोइरालालाई सरकारको नेतृत्व दिन हच्किरहेका बेला उनले शंका नगर्न आग्रह गरेका हुन् । एमाओवादी र मधेसी मोर्चा दुवैले शनिबार औपचारिक निर्णयमार्फत संघीयता र निर्वाचनसहितको प्याकेजमा सहमति भए गठबन्धन बाहिरको नेतृत्व स्वीकार गर्न सकिने निर्णय गरेपछि कोइरालाको प्रत्युत्तर आएको हो । 'हामीलाई संघीयताविरोधी भन्नु झूटो प्रचार हो, संघीयतामा जानुपर्छ भनेर हामीले भनेका भन्यै छौं,' कोइरालाले भने, 'हाम्रो घोषणापत्र र पार्टीका दस्तावेजमा समेत संघीयताप्रति पूर्ण प्रतिबद्धता छ ।' उनले नेता गिरिजाप्रसाद कोइरालाले सबैभन्दा पहिला संघीयतामा जाने प्रस्ताव गरेको बताए । 'कांग्रेस त्यसबाट पछि हट्नै कुरै आउँदैन,' उपत्यकाको थलीमा शनिबार भएको आमसभामा कोइरालाले भने, 'हामीले पटक-पटकका वार्ता र सहमतिमा समेत प्रतिबद्धता जनाइसकेका छौं ।' उनले देशव्यापी रूपमा पार्टीका नेता तथा कार्यकर्ताले संघीयताको पक्षमा जनमत तयार पार्ने काम गरिरहेको समेत बताए । नेता र कार्यकर्तालाई सम्हालिन आग्रह गर्दै उनले कांग्रेस आत्तिएर सहमति र सहकार्यको विकल्प खोज्ने दिशामा नजाने बताए । 'हो, समयको एउटा सीमा हुन्छ । हाम्रो धैर्य कहिलेसम्म भन्ने प्रश्न छ । तर अहिलेसम्म हामी अधैर्य भइसकेका छैनौं,' उनले भने, 'बितेका सात वर्षको अवधिलाई मूल्यांकन गर्दा राजनीतिक विकासक्रम मन्द गतिमा अघि बढेको छ । खासै समस्या समाधान हुन सकेको छैन । तर
आत्तिएर जिम्मेवार पार्टीले सहमति विपरीत जान सक्दैन । अहिले पनि सहमतिको विकल्प छैन ।'

No comments:

Post a Comment