आफूविरुद्ध लेख लेखेको भन्दै कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माले...

 काठमाडौ, असार १ - आफूविरुद्ध लेख लेखेको भन्दै कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माले एक नेपालीलाई घर फिर्ती (डिपोर्ट) गर्न कतार सरकारलाई पत्राचार गरेकी छन् । त्यहाँका गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशन पाएपछि निर्णय फिर्ता लिएकी छन् । कतारमा म्यानेजरका रूपमा कार्यरत चितवनका दीपक भनिने दीपेन्द्र भेटवाललाई राजदूत शर्माले व्यक्तिगत प्रतिशोधका आधारमा अनौठा-अनौठा आरोप लगाउँदै निकालाको पहल गरेकी हुन् । त्यसका लागि कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा पत्र लेखेकी थिइन् । 'कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र वाहक नेपाली नागरिक भेटवाल नेपाल सरकाविरुद्ध दोहामा कथित नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखे जसमा महामहिम राजदूतको व्यक्तित्वको आलोचना गरिएको थियो,' नेपाली दूतावासले कतार सरकारलाई लेखेको पत्रमा भनिएको छ, 'त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरू (मजदुरहरू) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।' चलानी नम्बर एनई/दोहा/ कन्सुलर/०६९/७०/१६६९ को पत्रमा उनले भेटवाललाई सकेसम्म छिटो पक्राउ गरी देश निकालाको व्यवस्थाका लागि सम्बन्धित निकायलाई भनिदिन विभागलाई आग्रह गरेकी छन् । उनले फिर्ता पठाउने मिति थाहा दिन अनुरोध गर्दै त्यसो भए आफूले काठमाडौंमा नेपाल सरकारलाई उनलाई पक्राउ गरी आवश्यक कारबाही गर्न खबर गर्न पाउने जानकारी गराएकी छन् । सात वर्षदेखि कतारमा कार्यरत भेटवाल निर्माण सुरक्षासम्बन्धी सामग्री बिक्री गर्ने कम्पनीमा म्यानेजर छन् । त्यही कम्पनीले सञ्चालन गरेको एबल मार्ट हाइपर मार्केटको पनि उनी म्यानेजर हुन् । उनले नेपाली श्रमिकका समस्यामा दूतावास गम्भीर नभएको आरोप लगाउँदै लेखहरू प्रकाशन गरेका थिए । उनलाई कतारको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको अनुसन्धान तथा अनुगमन विभागले बोलाएर नेपाल र्फकन कागजपत्र मागेको थियो । 'म शुक्रबार चीनबाट फर्केको थिएँ । आइतबार बिहान कतारको अनुसन्धान तथा अनुगमन विभागका अधिकारीले दूतावासबाट डिपोर्ट गर्न पत्राचार गरेको जानकारी दिँदै राहदानी र टिकट ल्याउन भने,' भेटवालले कान्तिपुरलाई भने, 'मेरो कम्पनीका जनसम्पर्क अधिकृत (मन्दुक) ले जिम्मेवारी लिएपछि सोमबार हाजिर हुने गरी छाडिदिए ।' त्यो विषय बाहिर आउनासाथ दोहाका अगुवा नेपालीहरूले राजदूतलाई भेटी विरोध जनाएका थिए । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सचिव टीवी कार्की, खाडी संयोजक नरेन्द्र भाट, संघका कतार अध्यक्ष अमृत गुरुङ लगायतले राजदूत शर्मालाई भेटी सामान्य कारणलाई भयानक बनाई नेपालीलाई फिर्ता नपठाउन ध्यानाकर्षण गराएका थिए । उनीहरूले पत्र फिर्ता लिन दबाब दिएका थिए । उनीहरूसँग राजदूतले भेटवालले आफूविरुद्ध लेख लेखेको र आफूलाई फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा गएर भेट गरेको कारण 'डिपोर्ट' का लागि पत्राचार गरेको बताएकी थिइन् । 'म कतार आएदेखि लेख लेख्ने काम गर्नुभयो,' उनको भनाइ त्यहाँका एक सहभागीले सुनाए । घटनाको जानकारी मुख्य सचिव र माओवादी नेताहरूसम्म पुगेपछि उनीहरूले निर्णय तुरुन्त फिर्ता गराउने पहल गरेका थिए । यो कदम नागरिक हितविपरीत भएको भन्दै तत्काल फिर्ता लिन भन्न परराष्ट्र सचिव दुर्गा भट्टराईलाई मुख्य सचिवले निर्देशन दिएको स्रोतले जनायो । काठमाडौंको निर्देशनपछि राजदूतले सोमबार कतारको कन्सुलर विभागलाई फेरि पत्र लेखी पुरानो पत्र फिर्ता लिएको जानकारी दिएको थियो । किन डिपोर्ट गर्न खोज्नुभएको हो ? भनी कान्तिपुरले काठमाडौंबाट टेलिफोनमा सोध्दा राजदूत शर्माले आफूले 'डिपोर्टका लागि पत्राचार गरेको नभई भेटवालले प्रहरीमा गएर आत्मालोचना गरेको' बताइन् । दूतावासले डिपोर्ट गर्न लेखेको पत्र कान्तिपुरलाई प्राप्त भएको छ त भन्दा उनले भनिन्, 'अहिले जहाँबाट जानकारी पाउनुभयो, उहीं सोध्नुस्, अरू कुरा पछि गरौंला ।' कतारमा सामाजिक अगुवाहरूले राजदूतले मन नपरेको व्यक्तिलाई आफूखुसी डिपोर्ट गर्न खोज्नु अख्तियारको चरम दुरुपयोग भएको बताएका छन् । एमाओवादी कोटामा राजदूत भएकी शर्माको कार्यशैली चित्तबुझ्दो नभएपछि यसअघि एमाओवादीकै कतारस्थित भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चले समेत फिर्ता बोलाउन निर्णय गर्दै केन्द्रीय कार्यालयलाई जानकारी दिएको थियो । राजदूतले बीबीसीको साझा सबालमा 'कतार खुला जेल' भनेपछि काठमाडौंस्थित कतारी दूतावासले आपत्ति जनाएको थियो । त्यसका आधारमा परराष्ट्र मन्त्रालयले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

No comments:

Post a Comment