अमेरिकाले सगरमाथा चुचुरोबाट चीन प्रति जासुसीको नालीबेली...

बिनम लिम्बु 

गरमाथामा प्रदुषण र विदेशी स्वार्थको चलखेल ह्वात्तै बढेको छ । विदेशीहरुले सगरमाथाको चुचुरोलाई चीनविरुद्ध जासुसीका लागि मुख्य ‘भ्यान्टिज प्वाइन्ट’का रुपमा प्रयोग गर्न खोजिरनेपाल सरकारले जसलाई पायो त्यसलाई विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने अनुमति दिन थालेपछि पछिल्ला दिनहरुमा सहेको घटनाक्रमले सावित गर्दै लगेको छ ।



यसरी नेपाली भूमि कसैका विरुद्ध प्रयोग हुनु नेपालको परराष्ट्र तथा सुरक्षा नीतिविपरीत हो ।  चीनलाई घेराहाल्ने र विश्वमा बढ्दो उसको प्रभावलाई रोक्न अमेरिकाले एशियामा बलियो उपस्थिति जनाउँदै आएको छ । भारतलाई समेत प्रयोग गरेर आफ्नो मिसनलाई प्रभावकारी बनाउन चाहन्छ, अमेरिका ।
चीनविरुद्ध जासुसीका लागि प्रमुख ‘भ्यान्टिज प्वाइन्ट’
यहाँका राजनीतिक पार्टीहरु, व्यूरोक्रेसी, बौद्धिक समुदाय, सुरक्षा निकायलगायत सबै क्षेत्रमा दलालहरु तयार पारेर आफ्नो रणनीतिक हितमा प्रयोग गर्दै आएका शक्ति राष्ट्रहरुले पछिल्लो चरणमा सगरमाथालाई पनि चीनकाविरुद्ध जासुसीका लागि प्रमुख ‘भ्यान्टिज प्वाइन्ट’ रुपमा प्रयोग गर्न खोजेका तथ्यहरु सञ्चारमाध्यममा सार्वजनिक हुँदै आएका छन् ।
चीनमा बेइजिङ ओलम्पिक हुँदै गर्दा विलियम व्रान्ट (२८ बर्षे अमेरिकी नागरिक) ‘फ्रि तिब्बत’ लेखिएको व्यानरसहित अप्रिल २९, २००८ मा सगरमाथा चढ्न खोजेको घटनाको केही वर्ष बित्न नपाउँदै मे १९, २०१३ मा बेलायती नागरिक डानियल ह्युजले सगरमाथाको शिखरबाट भिडियो अन्तर्वार्ता दिए । जसको बीबीसी टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्‍यो । नेपाल सरकारले त्यस घटनालाई अवैध कार्य भएको बताइसकेको छ । स्मार्ट फोनमार्फत् दिइएको त्यो भिडियो अन्तर्वार्तालाई ह्युजले विश्वकै सर्वोच्च शिखरबाट गरिएको पहिलो अन्तर्वार्ता भएको दाबी गरेका थिए । तर, उनले त्यसका लागि नेपाल सरकारसँग अनुमति लिएका थिएनन् ।
अमेरिकी एक मासिक पत्रिका ‘वायर्ड’ले सगरमाथा आरोहण गर्नेमा विदेशी जासुसी निकायका मान्छेहरु पनि हुने गरेको र आरोहणका नाममा जासुसी उपकरण जडान गर्ने प्रयत्न भएको खुलासा गरेको छ । रोबर्ट बेकहुसेनले गरेको उक्त खुलासाबाट अमेरिकी खुफिया एजेन्सीले हिमाल आरोहणका नाममा कसरी जासुसी गर्दोरहेछ भन्ने प्रस्ट भएको छ ।
उल्लेखित पत्रिका वायर्डले गरेको खुलासा अनुसार १९६० को दशकमा ‘अमेरिकी जासूसहरुसँग अहिलेको जस्तो अन्तरीक्षबाटै पृथ्वीका हरेक कुराको ठ्याक्कै पहिचान गर्ने अनुगमनकारी भूउपग्रह थिएनन् । त्यसैले अमेरिकी गुप्तचर एजेन्सीले जासूसी गर्नका लागि अन्य उपायमा भर पर्नुपर्थ्यो र त्यस्तो उपायमध्येको एउटा उपाय थियो, नेपालका हिमालको आरोहण गर्नु ।

नेपालका हिमालहरु अमेरिकी गुप्तचरहरुका लागि सेन्सर उपकरण राखेर चीनको जासूसी गर्नका लागि निकै उपयुक्त ठाउँ बनेका थिए ।
सन् १९६५ को कुरा हो । भियतनाम युद्ध चर्किदै थियो र त्यहीबेला चीनले पहिलो आणविक परीक्षण गर्‍यो । सामरिक घटनाक्रमहरु निकै तीब्र भैरहँदा अमेरिकी गुप्तचर एजेन्सी भने असफल बनिरहेको थियो । चीनले हिमालय क्षेत्रको केही सय माइल उत्तरस्थित गोप्य स्थानमा आणविक परीक्षण गर्‍यो । तर, चीनले आणविक परीक्षण गरेको ठाउँ, आणविक हतियारको क्षमतालगायतका कुरा अमेरिकी जासूसहरुले पत्ता लगाउन सकेनन् ।
हिमालय चुचुरोले जमीनमा राखेका अमेरिकी गुप्तचर एजेन्सीका सेन्सरहरुलाई छेक्यो र त्यस्ता सेन्सरले चिनियाँ भूमिमा हुने घटना पत्तो पाउन सकेन । अझ त्यसै बेला पाकिस्तानले अमेरिकी जासूसी जहाजलाई आफ्नो आकाशमाथि उड्न नदिएपछि अमेरिकी गुप्तचर एजेन्सीको बेहाल नै भयो । तर, अमेरिकाले अर्को विकल्प खोज्यो । दुई वर्षअघि मात्र अमेरिकी आरोहण दलले केही शेर्पा आरोहीको सहयोगमा पहिलोपटक सगरमाथाको आरोहण गरेको थियो । उक्त अमेरिकी आरोहण दलको लागि केही रकम समेत उपलब्ध गराएका अमेरिकी वायु सेनाका उच्च अधिकृत जनरल कर्टिस ली मेले तत्कालीन अमेरिकी आरोहण दललाई सघाएका शेर्पा आरोहीलाई फेरि चुचुरोमा पठाउने सोच बनाए ।


पहिलोपटक सगरमाथा आरोहण गरेको अमेरिकी टोली, जहाँ केही सदस्य अमेरिकी जासुसी संस्था सीआईएका अधिकारीहरु पनि थिए । त्यसमध्ये एक थिए डेभ डिङम्यान (बायाँबाट पहिलो घुँडामा हात लगाइरहेका) ।
 शेर्पा आरोहीमार्फत् ‘स्नापसट’ नामक प्लुटोनियम जेनेरेटर र सेन्सर उपकरण सगरमाथाको चुचुरोमा पठाएर त्यहाँ स्थापित गरी चीनका जासूसी सूचना संकलन गर्ने उद्देश्यअनुरुप शेर्पा आरोहीहरुलाई उनले उक्त सेन्सर चुचुरोमा लैजान प्रस्ताव राखे र शेर्पा आरोहीहरु त्यसमा तयार पनि भए । सगरमाथाको चुचुरोमा उक्त सेन्सर राखेपछि त्यसबाट चिनियाँ भूमिमा चीनले जडान गरेका मिसाइलहरुको अनुगमन हुने र त्यसको पूर्ण तथ्यांक र सूचना प्राप्त हुने अभिलाषा थियो, उनको ।
 यद्यपि सगरमाथाको चुचुरोमा सेन्सर पुर्‍याउनका लागि हुने आरोहण सफल हुन सकेन । अमेरिकाका लागि जासूसी ‘भ्यान्टिज प्वाइन्ट’ रुपमा सगरमाथा पहिलो रोजाइमा भए पनि आखिर भारतीय गुप्तचर एजेन्सीको सहयोगमा भारतको नन्दादेवी हिमालमा उक्त सेन्सर जडान गर्ने निर्णय अमेरिकाले गर्‍यो । सहमतिबमोजिम उक्त सेन्सर बोकाएर केही आरोहीलाई नन्दादेवीको चुचुरोतिर पठाइयो तर व्यापक हिमपात भएपछि आरोहीहरुले उक्त सेन्सर नन्दादेवी हिमालको चुचुरोमा पुर्‍याउन सकेनन् । आरोहीहरुले सेन्सरसहितको उपकरणलाई हिमालको एक भागमा गाडेर ओर्लिए, ता कि अर्को वसन्त ऋतुमा फेरि आरोहण गरी त्यसलाई चुचुरोमा पुर्‍याउन सकियोस् ।
 तर उक्त सेन्सरको अनुगमन गर्न गएको आरोहण दलले सेन्सर उपकरण खोज्दा त्यो फेला परेन । हिमपहिरोले उक्त सेन्सरलाई बगाएर पुरिसकेछ । त्यसको खोजीमा अमेरिकाले नेपालका केही शेर्पा आरोहीहरुलाई पनि खटायो । तर, कुनै पत्तो लागेन । सन् १९६६ मा अमेरिकी वायुसेनाको टोलीले सैनिक हेलिकप्टरमार्फत् अत्याधुनिक न्युट्रोन डिटेक्टरको सहायताले नन्दादेवी हिमालमा हराएको सेन्सर खोज्यो । तर, फेला नपरेपछि अन्ततः त्यसको खोजीकार्य रोकियो ।
‘दी भास्ट अननोउनः अमेरिकाज फर्स्ट एसेन्ट अफ एभरेष्ट’ पुस्तकका लेखक कोबर्न भन्छन्, ‘त्यो सेन्सर भारतीय गुप्तचर एजेन्सीले चोरेको अनुमान गरियो । अमेरिकी आरोहण दलको वसन्त अभियान सुरु हुनुअघि नै भारतीय गुप्तचर एजेन्सीले हिमालमा गाडिएको त्यो सेन्सर अपहरण गर्‍यो र त्यसमा भएको प्लुटोनियम चोर्‍यो ।’
 नन्दादेवी हिमालमा चीनको जासूसीका लागि सेन्सर राख्ने पहिलो योजना असफल भएपछि अमेरिकाले सन् १९६७ मा अर्को प्रयास गर्‍यो र नन्दादेवी हिमालको २२ हजार ५ सय १० फिटको उचाइमा सिआइएले सेन्सर स्थापित गर्‍यो । यद्यपि त्यो सेन्सरलाई हिउँले पुरेपछि ३ महिनाभन्दा बढी काम गरेन । ती महिनाभित्रमा सिआइएले थोरै भए पनि निकै महत्वपूर्ण सूचना प्राप्त गर्न सफल भयो ।
हिमालमा गाडिएको उक्त सेन्सर उपकरणले संकलन गरेका तथ्यांकबाट त्यसबेला अमेरिकी गुप्तचर एजेन्सीले थाहा पायो कि चीनसँग त्यसबेलासम्म लामो दूरीका आणविक हतियार छैनन् भन्ने कुरा ।
 यद्यपि भू-उपग्रहको अहिलेको युगमा अमेरिकाले विश्वको जासूसी गर्नका लागि यस्ता भुरेटाकुरे उपकरणमा भर पर्नुपर्दैन । तथापि विभिन्न अनुसन्धानका नाममा नेपालका हिमालमा अहिले पनि सेन्सरलगायतका उपकरण राखिएको हुनसक्ने सम्भावनालाई भने पूर्णतः नकार्न सकिन्न ।
मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लाका उच्च हिमाली इलाकामा ‘हातले नछुनु’ भनेर सूचना टाँसेर अनेक उपकरणहरू (जासुसी क्यामेराहरुलगायत) राखिएका छन् । ती उपकरणहरूबारे नेपाल सरकारलाई कुनै जानकारी छैन । ती उपकरणहरूको सिधा सम्पर्क अमेरिकाका भू-उपग्रह केन्द्रहरूमा हुने गरेको छ । अमेरिकीहरू ‘स्वतन्त्र तिब्बत’का पक्षमा छन् र तिब्बती शरणार्थीहरुलाई ‘ट्राभल भिसा’ दिन र दुःख नदिन वर्षको कम्तीमा तीनपटक मन्त्रीस्तरका व्यक्तिले नेपाल आएर सरकारमाथि दबाब दिने गरेका छन् ।

सरकारी उदासिनता
के कस्ता मान्छेहरु के कस्ता उपकरणसहित सगरमाथा आरोहण गर्न आउँछन्, त्यसको सरकारी नियकायले राम्रोसँग चेकजाँच गर्दैनन् । घुस र कमिसनको खेलमा अवैधानिक तथा गैरकानुनी कामले पनि छुट पाउने गरेका छन् । सगरमाथाआरोहणका लागि वर्षेनी हजारौंको संख्यामा आउने विदेशी तथा स्वदेशीहरुको चेकचाँजमा देखिएको उदासिनताबाट विदेशी जासुसी संस्थाहरुले फाइदा उठाउँदै आएका छन् ।
सम्बन्धित क्षेत्रका जानकारहरु भन्छन्, ‘अहिले सगरमाथा नेपाल सरकारको नियन्त्रणमा छैन, जनुसुकै विदेशीहरु नेपाल सरकारलाई थाहै नदिई बिना रोयल्टी सिधै सगरमाथा चढ्न सक्छन्, यसबारे नेपाल सरकार अनभिज्ञ छ ।’
सगरमाथाको आधार शिविरमा दुईजना मात्र कर्मचारी छन् । उनीहरुको काम भनेको मरेका मान्छेहरुको मुचुल्का बनाउनु मात्र हो । सगरमाथामा जोसुकै पुगोस्, तिनको बैधता जाँच्ने क्षमता ती कर्मचारीमा छैन । आधारशिविरमा सुरक्षाकर्मी नहुँदा असुरक्षित भएकोले त्यस्ता अवाञ्चित गतिविधि देखे पनि आँखा चिम्लिने अवस्थामा छन्, ती कर्मचारी । सरकारले ती कर्मचारीहरुको बस्ने बास समेत पनि मिलाउन सकेको छैन । एकपटक सगरमाथा आरोहण गरिसकेका कर्मचारी खिमलाल गौतम र ज्ञानेन्द्र श्रेष्ठ मात्र आधार शिविरमा छन् ।

सगरमाथासम्बन्धी केही ऐतिहासिक जानकारी
नेपालमा विश्वकै अग्लो हिमाल छ भन्ने तथ्य १९ शताब्दीको सुरुवाततिर मात्रै सार्वजनिक भएको हो ।
डब्ल्युएस वेब नाम गरेका व्यक्तिले कुमाउ क्षेत्रको अध्ययन गर्दा सन् १८०९ मा नेपालमा आठ हजारभन्दा बढी उचाइको हिमाल रहेको तथ्य पत्ता लगाएका थिए । उनले पत्ता लगाएको हिमाल धौलागिरी थियो । जसको उचाइ आठ हजार एक सय ७२ मिटर हो । करिब तीन दशकसम्म यसैलाई संसारको अग्लो हिमाल भन्ने मानियो ।
सन् १८४८ मा हिमालको उचाइ नाप्ने क्रममा कञ्चनजङ्घाको उचाइ आठ हजार पाँच सय ८६ मिटर रहेको पत्ता लाग्यो । केही वर्र्ष यसैलाई विश्वको अग्लो हिमाल भन्ने मानियो ।
भारतको ‘सर्भे अफ इन्डिया’ले सन् १८५२ मा सगरमाथा विश्वकै सबभन्दा अग्लो हिमाल हो भन्ने तथ्य सार्वजनिक गर्‍यो । त्यसलाई ‘पिक १५’ नाम दिएको थियो । त्यतिबेला त्यसको उचाइ २९ हजार दुई फिट मानिएको थियो । ‘कियोडा लाइट’ नामको यन्त्र प्रयोग गरेर त्यसबेला हिमाल नापिएको थियो । उक्त सर्भे विभागका सदस्य राधानाथ सिक्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरेका थिए ।
 नेपालमा रहेको सर्वोच्च शिखरलाई दिइएको पहिलो नाम “माउन्ट एभरेस्ट” हो । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेस्टले विकास गरेका थिए । उनले सन् १८२५ देखि सन् १८४३ सम्म भारतको सर्भेयर जनरलका रूपमा काम गरेका थिए ।
 विश्वको सर्वोच्च शिखरलाई विसं २०१३ सालमा मात्र सगरमाथा भन्ने नाम दिइएको हो । इतिहासशिरोमणि बाबुराम आचार्यले यो नाम राखेका हुन् ।
 सोलुखुम्बु जिल्लाको खुम्जुङग गाविसमा पर्ने यो हिमाललाई स्थानीयले ‘देवढुंगा’ पनि भन्ने गरेका छन् । त्यस्तै तिब्बतीले चोमोलुङगमा भन्छन् ।
 २९ मे, १९५२ को बिहान ११ ः १५ बजे न्यूजिल्याण्ड नागरिक एडमण्ड हिलारी र नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले सबैभन्दा पहिले सगरमाथाको सफल आरोहण गरे ।
 सन् १९३३ मा रोयल एयर फोर्स नामक जहाजका माध्यमबाट डेभिड फलर म्याक्लिनटायर र लर्ड क्लेडेस्डेलले सगरमाथको रेखाङ्कन (नक्सा) गर्नाका साथै तस्बिर पनि लिएका थिए । सोही तस्बिर र नक्साका आधारमा २० वर्र्षपछि न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरामा टेकेका थिए ।

बढ्दो छ प्रदुषण सगरमाथामा
एकैदिन १३० भन्दा बढीले सगरमाथा चढेको खबर सार्बजनिक भएपछि सगरमाथाको अस्तित्व र महत्वका विषयलाई लिएर चौतर्फी आवाजहरु उठ्न थालेका छन् । आरोहणका क्रमा लगेका वस्तुहरु यत्रतत्र फालिदिँदा सगरमाथामा प्रदुषणका गम्भीर समस्याहरु देखिन थालेका हुन् । आरोहीले प्रयोग गर्ने ग्याँस, रासायनिक पदार्थ, प्लाष्टिकजन्य सामान आदिलाई हावाले उडाएर हिमालको हिउँमा टाँसिन पुग्दा घाम लागेपछि त्यसले हिउँलाई तताएर छिटो पग्लाइदिन्छ । यसलाई नरोके हिमालहरु काला पत्थरमा परिणत हुने चेतावानी जानकारहरुले दिँदै आएका छन् ।

सगरमाथालाई विश्राम दिन माग
सरकारले सगरमाथा आरोहणको ६० वर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउने क्रममा सगरमाथालाई विश्राम दिनुपर्ने आवाजहरु पनि उठेका छन् । पछिल्लो समय सगरमाथा आरोहण गर्नेहरुको भीड लाग्न थालेपछि प्रदुषण बढ्नुका साथै अस्तित्व समेत संकटमा पर्दै गएछि केही समय सगरमाथा आरोहणमा रोक लगाउने (सगरमाथालाई विश्राम दिने) आवाज उठ्न थालेको हो ।
सरकारका अधिकारीहरुले पनि भनेका छन् कि सरोकारवालाहरुको सहमति भएमा सगरमाथालाई विश्राम दिन सकिन्छ । तर, सगरमाथा आरोहण रोक्दा नेपालको समग्र पर्यटन क्षेत्र नै प्रभावित बन्ने, राज्यको आम्दानी गुम्ने र पर्यटन व्यवसाय नै धरापमा पर्ने हुनाले बरु रोयल्टी बढाउने र सगरमाथासम्बन्धी स्पष्ट नयाँ नीति बनाएर त्यसको कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने आवाज पनि सँगै उठेका छन् ।


No comments:

Post a Comment