सेनापति कांसोरे: विवाद र वास्तविकता...


महेश वनेम-     

विगत केही समय देखि लिम्बूवानका वीर शहीद कांसोरे कुन वंशका थिए भन्ने बिषयमा धेरै विवादहरू हुँदै आएका छन्। अहिले खेवा वंश र फागो वनेम वंश बीचमा पनि सेनापति कांसोरेको बारेमा बिभिन्न वहस र दाबीहरू भैरहेका छन्। सेनापति कांसोरे सिंगो लिम्बूवानको एक ऐतिहासिक विभूती भएको कारणले सम्पूर्ण लिम्बूवानका सचेत नागरिकहरूले यस बिषयमा चासो देखाउनु स्वाभाविक हो। सामाजिक  संजाल फेसबुकको माध्यमबाट धेरै समय अगाडि देखि नै वीर कांसोरेको बारेमा बिभिन्न लेख,टिप्पणी र बहसहरू चलिरहेका छन्। यस्तो चर्चा र बहसको बिषय बनेका सेनापति कांसोरेको थिए? भन्ने बिषयमा अझै पनि जनमानसमा द्विबीधा भैरहेको समयमा "नेपाली समाचार राष्ट्रिय साप्ताहिक", "नेपाली समाचार डट कम" र "काठमान्डौ चुम्लुङ स्मारिका" मा केही समय अघि लेखक विस्वासदीप      तिगेला खेवा ज्युबाट लिखित "सेनापति कांसोरेको संक्षिप्त परिचय" र "को थिए लिम्बूवानी सेनापति कांसोरे ?" शिर्सकमा बिभिन्न लेखहरू प्रकासनमा आएको पाइयो। उक्त लेखहरुमा कांसोरेको बास्तविक ईतिहासलाई बङ्ग्याउने प्रयास भएका छन्। यस्ता भ्रम पूर्ण लेखहरूले जनमानसमा सिर्जना गरेको अन्योलतालाई हटाउनको लागि कांसोरेको वास्तविक परिचयलाई यो लेखमा राख्ने प्रयास गरेकोछु। फागो वनेम वंशको पुरानो हस्तलिखित पान्डुलिपि तथा "सिन्धोलुङ फागो वनेम(लिम्बू)वंशावली- इतिहास् तथा मुन्धुम" (प्रकासोन्मुख) अनुसार सेनापति कांसोरे फागो वनेम वंशका हुन। उनको जन्म वि.स. १८०५ चैत्र २५ का दिन हाल संखुवासभा चैनपुर मैदानेमा भएको थियो। उनी सुखरायका कान्छा सुपुत्र समुन्द्रेका एउटै मात्र पुत्र हुन। कांसोरे बाल्यकाल देखेनै साहसी र जोसिलो स्वभावका थिए। ढाल,तरवार तथा धनुर्विध्यामा उनको राम्रो दख्खल थियो। युद्ध कला पनि उनले सिकी सकेका थिए। त्यसबेला चैनपुरको प्रशासनिक तथा सामरिक क्षेत्रमा आफ्नै वंशका फागो वनेमहरूको अग्रता भएको कारणले होला कांसोरे प्रशासनिक तथा भूमि रक्षा क्षेत्रमा बिशेष रुचि राख्ने ब्यक्ति थिए। सायद सामरिक क्षेत्रमा उनको ठुलो रुचि र युद्ध कलामा पोख्त भएको कारणले होला चैनपुरका मुख्य शुभा जैकर्ण वनेम्बा (फागो वनेम) को शासन कालमा आफ्नै वंशका कांसोरे फागो वनेमले लिम्बूवानको सेनापति हुने अबसर पाएका थिए। प्रिथ्वी नारायण शाहको नेपाल एकिकरण अभियानको क्रममा गोर्खा-खम्बु युद्ध पछि गोर्खाले लिम्बूवान माथि आक्रमण गर्ने कुरो निश्चित थियो। दक्षिणी क्षेत्रमा रहेको फराकिलो कोशी नदि तरेर लिम्बूवान तथा बिजयपुरमा आक्रमण गर्न त्यति सजिलो नभएको  कारणले संभावित पहिलो आक्रमण चैनपुरमा हुने कुरा पनि तत्कालिन शासक जैकर्ण वनेम्बाले थाहा पाइ सकेका थिए। वि.स. १८२७ सालतिर गोर्खाली सेनाले अरुण नदि तरी लिम्बुवान मा प्रबेश गरेको कुरा पुरानो हस्तलिखित पान्डुलिपीहरूमा पाइन्छ (पान्डुलिपीको नक्कल -महेश वनेम संग छ) । इतिहासकार इमानसिंह चेम्जोङ का अनुसार वि.स. १८३१ तिर अरुण तरी चैनपुरे लिम्बुहरुका थुममा आक्रमण गर्न गोर्खा फौजले अरुण र सभाया खोलाको दोभान मा मोर्चा बाधेका छन भन्ने खबर सुनेर सुब्बा जैकर्ण राय (फागो वनेम)ले सेनापति कांसोरे(काङ्सो राय),साङ्बोतरे (साङ्बोत राय)र तेसक्पा राय (चेसक्पा) हरूको नेत्रित्वमा अरुण र सभायाको दोभानमा लिम्बूवान सेनाहरूलाई लड्न  पठाए। कांसोरेको कुशल नेत्रित्वको कारणले गोर्खा सेनाहरू धेरै मात्रामा हताहत भएपछि गोर्खा फौजहरू रण भूमिबाट पलायन भएका थिए। गोर्खा लिम्बू विच चलेको करिब तीन बर्ष को युद्ध कालमा धेरै युद्धहरू भएको बुझिन्छ र अरुण र सभायाको दोभानमा भएको युद्ध गोर्खाले लिम्बूवानमा गरेको प्रथम आक्रमण भएको कुरा इतिहासमा लेखिएको पाइन्छ। । गोर्खा र लिम्बू सेना बिच भएको उक्त प्रथम युद्धमा नै कांसोरे फागो वनेमको नेत्रित्वमा रहेको लिम्बू सेना धेरै बलियो रहेको कुरा गोर्खा पक्षले थाहा पाइसकेका  थिए। गोर्खाली पक्षले लिम्बू सेनाहरूलाई हराउनका लागि भित्र भित्र बिभिन्न षड्यन्त्रहरू रच्न थाले। अरुण र सभायाको दोभान बाहेक अन्य क्षेत्रहरुमा पनि युद्ध गर्ने तयारी गोर्खा पक्षका सेनाहरूले गरिरहेका थिए। गोर्खा तर्फका सेनापती रघुरानाले लिम्बू राजाका सरदार सित द्वन्द युद्ध गर्ने धम्की दिए। द्वन्द युद्धमा लिम्बू तथा गोर्खा दुवै पक्षका सेनाहरू विना हात हतियार उपस्थित भई दुई सेनापति हरूको द्वन्द युद्ध हेर्ने र जुन पक्षको जित हुन्छ त्यहि पक्षको युद्ध विजयलाई स्वीकार गर्ने शर्तमा युद्ध हुने निश्चित भयो।  
हाल संखुवासभाको बार्हबिसे अन्तर्गत पर्ने सभाया,भोटिया र लङ्खुवा खोलाको त्रिबेणि छेउमा उक्त युद्ध भएको थियो। खोलाको छेउमा भएको कारणले उक्त भूभागमा वालुवाको मात्रा बढी थियो। शर्त वमोजिम दुबै तर्फका सिपाहीहरु वि.स.१८३१ वैशाख २५ को दिन सेनापतिहरुको द्वन्द युद्ध हेर्न युद्ध मैदानको वरिपरि लाम लगेर बसे। विहानबाट शुरु भएको सेनापतिहरुको द्वन्द युद्धमा अपरान्हतिर  सेनापति कांसोरेले रघुरानालाई काटि मारे। त्यसपछी अगाडि नै षडयन्त्र पूर्वक वालुवा मुनी लुकाई राखेका हात हतियार निकाली गोर्खाली सिपाहीहरुले कांसोरेलाई हत्या गर्न लागे।  कांसोरे आफ्नो जीवन रक्षाको लागि प्राकृतिक ढाल (Ground Cover) को आड लिदै युद्ध भूमिको तल्लो भाग तिर दगुर्दै जाँदा सभाया,भोटिया र लङ्खुवा खोलाको त्रिबेणिमा भएको ठुलो पानीको मात्राको कारणले कांसोरे त्यो भन्दा टाढा जान सकेन र गोर्खाली सेनाले कांसोरेलाई त्रिबेणी छेउमा हत्या गरे। त्यस पछि हतियार विहिन लिम्बू सेनाहरुले घर मै राखी छोडेका हात हतियारहरु लिई बिभिन्न गौंडाहरु(escape route) बन्द गरि गोर्खाली सेनाका सिपाहीहरुलाई घेरामा पारी मारी दिए। त्यस पछी उनिहरुले ति वीर योद्धाहरुको लासलाई उठाइ रघुरानाको लासलाई युद्ध छेत्रको माथिल्लो भागमा र कांसोरेको लासलाई युद्ध छेत्रको तल्लो भागमा गाडेका थिए। बार्हबिसेको उक्त युद्ध मैदानमा रघुरानाको चिहान छेउमा निर्माण गरेको मछिन्द्र नाथको मन्दिर र गणेशको मन्दिर आज पनि देख्न सकिन्छ र त्यस मन्दिरको  तल्लो भागमा रहेको मूलबाटो (लिम्बू भाषामा "साङ्लाम्") को मुनितिर अवस्थित कांसोरेको चिहानलाई हाल “बराजु थान” भनेर चिनिन्छ। उक्त "बराजु थान" भित्र रहेको चिहान छेउमा धेरै बर्ष अगाडी कांसोरेका सन्ततिहरू द्वारा रोपिएको "साम्सिङ"(लिम्बू मुन्धुम अनुसार लिम्बूहरूको मृत्यु् सँस्कारहरुमा प्रयोग गरिने पवित्र ब्रिक्ष) को रुख आज पनि देख्न सकिन्छ। कांसोरेको मृत्यु पछि फेरी एकपटक रामभक्त थापाको नेत्रित्वमा गोर्खाली फौजले चैनपुर माथि आक्रमण गर्न आएको कुरा ईतिहासमा लेखिएको पाइन्छ। तर यस पटकको युद्धमा पनि लिम्बू सेनाले गोर्खाली सेनालाई सोला धराप र पासोमा पारी मारेका थिए। यसरी तीन पल्ट सम्मको युद्धमा पनि पराजय भोगे पछि राम भद्र थापाले मेल मिलापको बाटो लिए। राम भद्र थापा र चैनपुरका अफिसरहरू मन्जितरे (मन्जित राय),राजमोतरे र बिरजितरे( बिरजित राय) वीच भएको मेल मिलापको नितिले गोर्खा लिम्बू युद्ध थामिएको थियो। वि.स.१८३१ श्रावण २२ को नुन पानीको सन्धी भन्दा अगाडि गोर्खा र लिम्बू वीच धेरै पटक युद्द भए पनि इतिहासमा मुख्य ३ युद्दहरुको मात्र बिस्त्रित रुपमा वर्णन गरिएको पाइन्छ । यी तिनै युद्धहरू चैनपुर इलाकामा भएका थिए। वि.स. १८३२ देखि भने सिक्किमका भोटे सेनापति "त्रिपुटाका" र लेप्चा सेनापति "छ्योकथुप"( अथिङहाङ) को नेत्रित्वमा भने लिम्बूवानका केही लिम्बूहरूले धेरै पटक गोर्खाको विरुद्धमा युद्ध गरेको कुरा ईतिहासमा पाइन्छ। लिम्बूवान भूमि र जनताको लागि विरताका साथ शहादत प्राप्त गर्ने सेनापति कांसोरे फागो वनेम,खेवा वंशी हुन भन्ने पक्षमा केही आधारविहिन लेखहरू निस्किरहेका छन्। तर फागो वनेम वंशको पुरानो हस्तलिखित पान्डुलिपी,हडसनको पान्डुलिपी,"सिन्धोलुङ फागो वनेम (लिम्बू) वंशावली-ईतिहास तथा मुन्धुम"(प्रकासोन्मुख),ईतिहास(चेम्जोङ)र ईतिहासकारहरूको खोज अनुसन्धान तथा बुद्दिजिबीहरूकोभनाइको आधारबाट सेनापति कांसोरे फागो वनेम वंशका हुन भन्ने कुरा स्वत प्रमाणित हुन्छ। "को थिए लिम्बूवानी सेनापति कांसोरे"(नेपाल समाचार राष्ट्रिय सप्ताहिक)र काठमाण्डौ चुम्लुङ स्मारिकामा प्रकाशन भएको "सेनापती कांसोरे संक्षिप्त परिचय" मा भ्रम पूर्वक लेखिएका निम्न पङ्ती हरू माथि छोटो चर्चा गर्न चाहन्छु। १, " सेनापति कांसोरे निशस्त्र भई सेनाहरुको साथमा कत्लेभन्ज्याङ हुँदै सभा दोभान पुगे र दुई सेनापति बिच युद्ध शुरु भयो। सेनापति कांसोरेले गोर्खाली सेनापति रानालाई तरबारले काटेर मारिदियो। " -ईतिहास अनुसार हेर्ने हो भने सेनापतिहरुको द्वन्द युद्ध हेर्न दुबै पक्षका सेनाहरू निशस्त्र उपस्थित हुने शर्त थियो तर सेनापतिहरू चाँही ढाल र तरबारले युद्ध गरेका थिए भन्ने बुझिन्छ नत्र भने निशस्त्र रहेका कांसोरेले सेनापति रघुरानालाई काटेर मारे भन्नु गल्ति ठहरिन्छ। अर्को कुरो अरुण र सभाया खोलाको दोभानमा त गोर्खा र लिम्बू वीच को प्रथम युद्ध भएको हो(किरातकालिन विजयपुरको संक्षिप्त इतिहास –चेम्जोङ) तर सेनापतिहरू  बीचको द्वन्द युद्ध चाँही दोस्रो युद्धमा भएको कुरा ईतिहासमा प्रस्ट छ। Hodgson को पान्डुलिपिमा वर्णन गरिएको भौगोलिक बनावट,युद्ध स्थलको मिल्दो भौगोलिक बनावट र स्थानिय जनमानसको भनाइ अनुसार गोर्खा र लिम्बू वीच भएको दोस्रो युद्ध हाल संखुवासभा अन्तर्गत बार्हबिसेको सभाया, लङ्खुवा र भोटिया खोलाको त्रिबेणीमा पर्दछ।  
२, "दुवै सेनापतिको शवलाई ठुलो सम्मानको साथ गन्धेपानी डाँडामा अन्त्येस्टी गरि चौतारा बनाई दिए। अहिले पनि उक्त समाधिस्थल प्रमाणको रुपमा देख्न सकिन्छ। दुवै सेनापतिको समाधिस्थल आमनेंसामुन्ने राखिएको छ। " -दुवै सेनापतिको शवलाई गन्धेपानीमा नभइ बार्हबिसेको युद्धभुमिमा गाडेका थिए। तिनीहरूलाई आमनेंसामने नराखिएर रघुरानाको शवलाई युद्ध क्षेत्रको माथिल्लो भागमा (हाल त्यस ठाउँ नजिक मछिन्द्रनाथ र गणेशको मन्दिरहरू निर्माण गरिएका छन् )र कांसोरेको शव लाई युद्ध क्षेत्रको तल्लो भागमा (हाल त्यस लाई“बराजु थान” भनेर चिनिन्छ) गाडेका थिए। यी दुवै चिहान वीचको दुरी करिब १००-१५० मिटरको फरक रहेकोछ। आज पनि यी मन्दिरहरू र "बराजु थान" प्रमाणका रुपमा देख्न सकिन्छ। बराजु थानबाट करिब ४०-५० मिटरको दुरिमा सभाया,लङ्खुवा र भोटिया खोलाको त्रिबेणी रहेको छ। ३,"गोर्खाली र लिम्बूवान वीच विभिन्न गौडामा १७ वटा युद्धहरू भए। ती युद्धहरू मध्ये धेरै युद्धहरूको नेत्रित्व सेनापति कांसोरे आफैले गरेका थिए। लिम्बूवान संगको युद्धमा गोर्खालीहरूले धेरै गुमाए तर विजय गर्न सकेनन र अन्तत:कुटनैतिक सम्बन्ध जोडे। लिम्बूवानले आफ्नै मुद्रा,आफ्नै कानुन उपभोग गरि राजधानी विजयपुर,धरानमा नुनपानीको किरिया खाइ गोर्खाली संग सम्झौता भयो।" -वि.स. १८३१ स्रावण २२ को नुनपानीको सन्धी भन्दा अगाडी गोर्खा र लिम्बू वीच १७ पटक युद्ध भएको थियो भन्नु ईतिहासको गलत व्याख्या गर्नु हो। नुनपानीको सन्धी भन्दा अगाडी लिम्बूवानको चैनपुर ईलाकामा गोर्खा र लिम्बू सेना वीच धेरै पटक युद्द भए पनि इतिहासमा बिशेष तीन वटा युद्दको मात्र वर्णन गरिएको पाईन्छ । तर वि.स. १८३२ देखि सिक्किमका भोटे सेनापती "त्रिपुटाका" को नेत्रित्वमा भोटे सेना र  याङरोकका लिम्बू सेनाहरूले चैनपुर इलाकामा गोर्खालीहरूको बिरुद्धमा धेरै पटक युद्ध गरेको ईतिहास पाइन्छ। त्यहि समयमा सिक्किमका लेप्चा सेनापति "छ्योकथुप"(अथिङहाङ)को नेत्रित्वमा लेप्चा सेना र लिम्बू सेना मिली विजयपुर मोरङ ईलाकामा १८ पटक युद्ध भएको थियो। १७ पटक सम्म सेनापति छ्योकथुपको फौजले गोर्खा सेना माथि लगातार विजय प्राप्त गरेको कारणले गोर्खालीहरूले छ्योक्थुपलाई "सत्राजित"भनेर नामाकरण गरेका थिए। १८ औं पटकको युद्धमा पनि सिक्किमे फौजको विजय भएपछि गोर्खा फौजका सरदारहरूले सिक्किमसँग सन्धी गर्ने निति अपनाए। प्रिथ्बी नारायण शाहको मृत्यु् भैसकेको कारणले उनको छोरा प्रतापसिङ शाह गोर्खाका राजा भएका थिए। अन्तत:सन् १७७५ जुलाई २३ को दिन विजयपुरमा गोर्खाका राजा प्रताप सिंह शाह र सिक्किमका राजा थुतोब नाम्ग्याल बिच पहिलो सन्धी भएको थियो। ४, "मानव उत्पती र खेवा वंश पुस्तक अनुसार सेनापति कांसोरे खेवाहाँङ वि.स.१८०० मा छथर थुमका हाङ कमराय खेवाहाँङको जेष्ठ पुत्रको रुपमा तेह्रथुम, सुदापको खेवाहाँङ यक ताक्लुङ्मा जन्मिएका थिए।.......................................... भतिजा बुद्धिकर्ण विजयपुरको राजा बन्नुमा पनि उनको साथ थियो। " -सेनापति कांसोरे फागो वनेमको जन्म वि.स.१८०५ चैत्र २५ का दिन हाल संखुवासभा चैनपुर मैदानेमा
भएको थियो। उनी सुखराय फागो वनेमका कान्छा सुपुत्र समुन्द्रेका एउटै मात्र पुत्र हुन। खेवा वंशका दाबी अनुसार सेनापति कांसोरे छथर थुमका राजा कम रायका छोरा हुन भनेर विस्वास गर्ने आधार छैन् किनकी राजा कम राय पछि छथर थुमको गरिमामय राज सिङ्हासनलाई त्यागेर खेवाहाँङ भनिएका राजकुमार कांसोरे चैनपुरको जैकर्ण वनेम्बा(फागो वनेम)का सेनापति बन्ने अवस्था देखिन्दैन। माथिको भनाइमा राजा बुद्धिकर्ण,कांसोरेका भतिजा थिए भन्ने कुरा बुझिन्छ तर "मानव उत्पति र खेवा वंश" पुस्तक अनुसार हाङ्जिलिहाङ्दुम्बा देखि ११ औं पुस्तामा देखिने बुद्धिकर्ण राय,९ औं पुस्तामा देखिने कांसोरेका नाति हुन भन्ने बुझिन्छ। ५, "उनको (कांसोरेको)पहिलो सन्तान कनराय वि.स. १८२४,दोस्रो सन्तान केयु राय वि.स. १८२८ र तेस्रो सन्तान वि.स. १८३१ मा जन्मिएका थिए। तेस्रो सन्तान गर्भे टुहुरो बनेका थिए।" -यस भनाइबाट खेवाहाङ भनिएका कांसोरेका जम्मा तीन जना मात्र पुत्र भएको बुझिन्छ तर "मानव उत्पति र खेवा वंश" पुस्तक अनुसार कन्न राय,केमु राय(केयु भनिएको छ),अर्थबिर र रमन सेन तिगेला गरि कांसोरेका जम्मा ४ जना पुत्रहरू भएको देखिन्छ।यदी तेस्रो सन्तान अर्थबिर तिगेला गर्भे टुहुरो भएको भए चौथो सन्तान रमन सेन तिगेलाको जन्म कसरी भयो? भन्ने प्रश्नको उत्तर पाठकले अबश्य माग्ने छन्।यस्ता भ्रम पूर्ण भनाइ हरुमा अल्मल नहुनका लागि पाठक हरुलाई अनुरोध गर्दै सेनापति कांसोरे फागो वनेमका एउटै मात्र सन्तान "मुगिन्दा फागो वनेम" हुन् भन्ने तथ्यको जानकारी गराउन चाहन्छु। ६, "उनका सन्तानहरू अहिले सभा दोभान नजिकको लेगुवा र छथर हात्तिखर्कमा पनि बसोबास गर्दै आएका छन्।" -सेनापति कांसोरे फागो वनेमका सन्तानहरू लेगुवा र छथरका नभई हाल ताप्लेजुङ, ढुङ्गेसाँघु माझगाउँ   का फागो वनेमहरू हुन्। ईतिहासमा देखिएका जैकर्ण वनेम्बा,साङ्बोत्रे (साङ्बोत राय),काङ्कारे,मन्जित्रे (मन्जित रे) र कांसोरे फागो वनेम वंशावलिमा देखिन्छन्।कांसोरे फागो वनेम हुनुका आधार र कारणहरू: १.वनेम वंशसंग रहेको हस्तलिखित पाण्डुलिपि (वंशावली विवरण) मा श्रीदेव राय(सिर्देउ काजी) जैकर्ण राय,गंगा राय (काङकारे),कांसोरे (कंस राई / कंस राय),साङबोत राय (साङबोत्रे) र मन्जित्रेको नाम प्रष्ट रुपमा उल्लेख भएकोछ। जैकर्ण राय,श्रीदेव राय,हाङसु राय (हंसुरे) को नाममा बक्स भएको मोहरहरुबाट उल्लेखित माथिका पुर्खाहरु फागो वनेम हुन भन्ने कुरा प्रमाणीत हुन्छ।२.वनेम वंशसंग रहेको हस्तलिखित पाण्डुलिपि अनुसार चैनपुरका शासक जैकर्ण फागो वनेम र सेनापति कंस राई (कांसोरे) एउटै वंशका हुन भन्ने प्रमाणित हुन्छ। ३.ब्राइन हडसनद्धारा संकलित पाण्डुलिपि (बि.स १९०३) को खण्ड ८५ ,पृष्ठ १३२ को प्रथम भागमा गोर्खा सेनाको विरुद्धमा लडने लिम्बू सेनाहरु साङबोत्रे(साङबोत राय),काङकारे(गंगा राय) र कांसोरे (काङ्सो राय) को नाम प्रष्ट रुपमा लेखिएकोछ। उक्त खण्डकै पृष्ठ १३६ को पहिलो र दोश्रो हरफमा लेखिएको आसेन्क्र फागो नु माङक्रा (मगर) नु सिक्जाली (सिंजाली) नु नेत् मेयुक्सिङ।। खाम्मो मेधक्ते मेजेप्सिङाङधो क्र (ग) नेत् मेसेन्तेलो (रो)।। भन्ने भनाईबाट माथि उल्लेखित साङबोत्रे,गंगा राय र सेनापति कांसोरे फागो वनेम हुन भन्ने कुरा निर्विवाद रुपमा प्रमाणीत हुन्छ। ४. लिम्बूवानका बुद्धिजीवी तिल बिक्रम कन्दङ्वा र इतिहासकार तथा मुन्धुमविद अर्जुन बाबु माबुहाङले पनि गोर्खा विरुद्ध लडने लिम्बूवानको सेनापति कंसराइ (कांसोरे) फागो वनेम हुन भन्ने कुरा स्वीकार गरेका छन। ५. गोर्खा र लिम्बूवान चैनपुरवीच युद्ध भएको चैनपुरका विभिन्न ठाउँहरु चैनपुर,तुम्चा (दुम्जा),लङखुवा, भोटिया खोला,स्वची गढी,हात्तिसुँडे डाँडा उकालो जानेबाटो,सभाया अरुन नदी,बारबुक्से(बाह्बिसे),मैदाने,नेर्गो (चौरी खर्क),स्वची कोस्वा आदी ठाउँहरुमा खेवा वंशी लिम्बूहरुको बसोबास नभई वर्तमान समयसम्म पनि सिद्धपोखरी,मैदाने,बाह्बिसे,स्वची कोस्वा,वना क्षेत्रमा तिनै जैकर्ण वनेम्बा र हामसेङबाका (फागो वनेम का पुर्खाहरू हाम्युङ्बा र हाम्सेङ्बा दाजु भाइ हुन) सन्तानहरु बसोबास हुनुबाट सेनापति कांसोरे खेवा वंशका नभएर फागो वनेम हुन भन्ने प्रमाण सिद्ध हुन्छ। ६. भौगोलिक विषमताको आधारमा हेर्दा सेनापतिद्धय रघुराना र कांसोरे युद्ध लडेको स्थान हालको संखुवासभा अर्न्तगत बार्हबिसेको लङखुवा,सभाया र भोटिया खोलाको त्रिबेणी तत्कालीन चैनपुर गढ र कोस्वा स्वाची गढीबाट धेरै नजीक पर्दछ। तत्कालीन विजयपुरबाट उक्त लडाइँ भएका स्थानहरु धेरै टाढा भएको कारणले पनि गोर्खा चैनपुर युद्धमा खेवा वंशीहरुको (विजयपुर राज्य) को कुनै सहयोग र सहभागिता रहेको देखिन्दैन। गोर्खा सेनाको विरुद्धमा लड्ने बीर योद्धाहरु हाल चैनपुर,सिद्धकाली मैदाने र बाहबिसेमा बसोबास गर्ने फागो वनेमका पुर्खाहरु थिए। ७. आजसम्म पनि ताप्लेजुङ पाँचथर तथा संखुवासभाका विभिन्न क्षेत्रमा बसोबास गर्ने वनेम वंश तथा गैर्ह वनेम वंशी लिम्बूहरुमा सेनापति कांसोरे फागो वनेम हुन भन्ने विश्वास र भनाईहरु विद्यमान रहेका छन।  
८. तत्कालीन चैनपुरका शासक जैकर्न फागो वनेम र कांसोरे फागो वनेम एउटै पुर्खाका सन्तानहरु भएको कारण जैकर्ण फागो वनेमले आफ्नै वंश भित्रको ब्याक्तिलाई विश्वासका साथ सेनापतिको जिम्मेवारी पद सम्हाल्न दिएको तथ्यलाई नकार्न मिल्दैन।  
९. इतिहासकार तथा मुन्धुमविद रणध्वोज सेरेङ चोङबाङ ज्यूले पनि हालसम्मको आफ्नो खोज अनुसन्धान साथै हालसम्म प्राप्त भएका विभिन्न इतिहास र वंशावली एवं दस्तावेजहरुको आधारमा सेनापति कांसोरे खेवा तिगेला नभएर फागो वनेम हुन भन्ने धारणा अघि सार्नु भएकोछ।  
१०.हडसनको पाण्डुलिपि र किरात इतिहासकार इमानसिं चेमजोङको इतिहासमा लेखिएको सेनापति कांसोरे र वनेम वंशको वंशावली (प्रकाशोन्मुख) मा उल्लेखित भएको कंसराई (कांसोरे) एउटै भएको तथ्यले सेनापति कांसोरे फागो वनेम हुन भन्ने कुरामा विवाद हुन सक्दैन। ११. कांसोरे विजयपुरको सेनापति भएको भए राजा बुद्धिकर्ण रायले छिमेकी राष्ट्र(सिक्किम) समक्ष एउटा सानो सैन्य टुकडीको सहयोग मागी राजा कामदक्तसेनको हत्या गर्नु पर्ने अवस्था आउँदैन्थ्यो। सैनिक सार्मथ्यको हिसावले अत्यन्तै कमजोर भएका राजा बुद्धिकर्ण रायका काका भनिएका (खेवा वंश अनुसार) कांसोरे तिगेला खेवा निश्चीत रुपमा सेनापति थिएनन् भनेर ठोकुवा गर्न सकिन्छ। हालसम्म खेवा तिगेला वंशको हस्तलिखित वंशावलीमा कांसोरे नामको पुर्खा लेखिएको भए नभएको समेत जानकारीमा नआएको हुनाले खेवा तिगेला वंशावली प्रकाशित गर्दा संयोगवश फागो वनेम वंशको कांसोरे फागो वनेमसंग मेल खाने नाम राखिएको हुन सक्ने सम्भावना भएकोले पनि लिम्बूवानका योद्धा कांसोरे फागो वनेम हुन भन्ने कुरा स्पष्टछ। १२. यदी सेनापति कांसोरे खेवाहाङ भए कांसोरेसंग एउटै वंशका देखिने जैकर्ण,साङबोत राय,काङकारे (गंगाराय), मन्जित रे र श्रीदेव रायलाई किन खेवा वंशी भनि दावी गरिएन? फागो वनेम हस्तलिखित वंशावली, इतिहास र मोहरहरुबाट फागो वनेम भनि देखिएका जैकर्ण फागो वनेम र श्रीदेव रायका वंश भित्र देखिने सेनापति कांसोरे हर हिसावले खेवा नभइकन फागो वनेम नै हुन भनेर जो कोहीले पनि पेश गर्न सक्ने  प्रमाण हो। १३.गोर्खा सेना विरुद्ध लड्ने लिम्बूवानको सेनापति कांसोरेलाई आजसम्म कुनै पनि लिम्बू विद्धान बुद्धिजीवी र इतिहासकारहरुले खेवा वंशका हुन भनेका छैनन्।वनेम कल्याण संस्था नेपाल र वनेम कल्याण संस्था यु.के.ले कांसोरेको बारेमा बिभिन्न खोज तथा अनुसन्धानहरू गरिरहेको छ। हाल सालै मात्र संखुवासभाको बार्हबिसेमा १७ सदस्यिय "कांसोरे समाधिस्थल संरक्षण समिति" गठन गरेर कांसोरेको चिहान "बराजु थान" लाई संरक्षण गर्ने क्रममा बराजु थान वरिपरि पर्खाल लगाउने कार्य जारी रहेको छ। आगामी डिसेम्बर २२ को दिन धरानको सप्तरंगी पार्कमा वीर कांसोरेको सालिक राख्ने कार्यक्रम तय गरिएकोछ।  ईतिहासका सत्य तथ्यलाई ढाकछोप गरि कांसोरेको बिषयमा लेखिएका बिभिन्न लेखहरू फेसबुकमा मात्र नभएर सन्चारका अन्य माध्यमहरू (नेपाली समाचार राष्ट्रिय साप्ताहिक, काठमान्डौ चुम्लुङ स्मारिका तथा नेपालि समाचार दट कम)मा प्रकाशित भईसकेका छन् तर यस्ता आधार बिहिन लेखहरू लाई बडो होसियारिका साथ अध्ययन गर्न सम्पूर्ण पाठक बर्गलाई अनुरोध गर्न चाहान्छौं । नेपाली समाचार डट कमले  भर्खरै मात्र सेनापति कांसोरेको बारेमा पत्रकार भैरब आङ्ला ज्युको खेवा वंशी गन्ध बोकेको अभिब्यक्तिलाई प्रकाशमा ल्याएकोछ। तर अन्य पक्षबाट कांसोरेको बारेमा प्रस्तुत गरिएका लेखहरू लाई(फेस बुकमा छन्) समाचारमा राखिएका छैनन्। यसबाट के बुझिन्छ भने नेपाली समाचार माध्यमहरूलाई सधैं लाग्ने गरेको "मिडिया फ्लु"(एक पक्षिय समाचार मात्र छाप्ने रोग) ले "नेपाली समाचार डट कम" लाई  पनि दुर्गन्धित बनाई सकेको छ। "लिम्बू कि याक्थुङ" नामक विवादित लेखको प्रकाशनमा "हिमाल खबर पत्रिका लाई लागेको "मिडिया फ्लु" ले नेपाली समाचार डट कम लाई पनि सताइ रहेकोछ। समयमै यस रोगलाई उपचार नगरेमा "नेपाली समाचार डट कम" को अल्प आयुमै मृत्यु हेर्न आगामी डिसेम्बर २१,२०१२ मा हुने भनिएको महा-प्रलय लाई पर्खि रहनु पर्दैन।  
सन्दर्भ सामग्रिहरु: 
१,  किरातकालिन विजयपुरको सक्षिप्त इतिहास - इमानसिंह चेम्जोङ 
२,  History and Culture of The Kirat People- Imansing Chemjong 
३,  लिम्बुवानका शहिद काङ्सोरे वारे भ्रमको खेती र सत्य तथ्यहरू(लेख)- महेश वनेम 
४,  लिम्बुवानका शहिद कङ्शोरे ऐतिहासिक प्रमाणहरू (लेख)  - टङ्क वनेम 
५,  फागो वनेम हस्तलिखित पान्डुलिपी(वंशावली) 
६,  हडसन पान्डुलिपी            
जै कांसोरे! जै लिम्बूवान!! 

No comments:

Post a Comment