गोर्खाल्याण्डको निम्ति सबैलाई जगाउँने मंगलसिह राजपुत को हुन त

"मैले आफ्नो पति गुमाए यसको निम्ति धेरै दुखी छु। मेरो पति छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति शहिद भए। माटोको निम्ति मेरो पतिले आफैलाई बलिदान दिएको कारण शहिदकी स्वास्नी हुनमा गर्व गर्छु। तिनको बलिदान् त्यस समय मात्र पूर्ण हुनेछ जब छुट्टै राज्य गोर्खाल्याण्डले साकार रुप पाउँनेछन" – शहिद मंगलसिह राजपुकी स्वास्नी मञ्जु राजपुतले गहभरी आँशु पारेर भनिन।
गोर्खाल्याण्ड भनेपछि हुरुक्कै हुने मंगलसिह राजपुतले पहाडमा गोजमुमो पार्टीको स्थापना भएपछि आफ्नो आँगनमा पनि गोजमुमो कै झण्डा फर्फराए। तिनले आँगनमा गाडेको मोर्चाको तिरङगा झण्डा अझै फर्फराईरहेको छ तर छैन झण्डा गाड्ने मङगलसिह राजपुत। छन त केवल तिनका सम्झनाहरुमा तिनले गाडेका झण्डा अनि स्मृतिमा फोटोहरु। घर सुनसान छ, पतिको बियोगमा गहबाट आँसु खसाउँनु बाहेक छैन मञ्जु राजपूतको कुनै अन्य बिकल्प। शहिदको पत्नि हूँ भनेर गर्व गर्दा गर्दै भक्कानिएर रुन्छिन उनी। आमाको आँखाबाट झरेको आँशुले छोराहरुको आँखाको डिलबाट पनि कहाँ रोकिने र त्यो पिडा ? तथापी आफैलाई सम्हाल्छिन उनी अनि भन्छिन – "गोर्खाल्याण्ड भएको दिन मात्र मेरो पतिको आत्माले शान्ति पाउँनेछ"।
"गोर्खाल्याण्ड भनेपछि मरिमेट्ने हाम्रो मङगलेको मृत्युले साह्रै दुखी छु। तथापी मैले हुर्काएको मङगलसिह राजपुत आज माटोको निम्ति शहिद हुँदा खुशी लागेको छ। हामी मरे सायद कसैले थाह नपाउँला तर हाम्रो मङगलेको नाउँ अब गोर्खाल्याण्डको ईतिहासमा स्वर्ण अक्षरले लेखिनेछ" – मङगलसिह राजपुतलाई हुर्काउने निमा वाङ्दी भोटिया भन्छन। तिनी पनि राजपुतको मृत्युको खबरले दुखी थिए जसको स्पष्ट भाव तिनको आँखामा छल्किरहेको टिल पिल टल्कने आँसुले बताईरहेको थियो। "मेरो दिदी भोटाङको फुन्छोलिङमा काम गर्थिन। त्यसैबेला यो केटालाई तिनको आमा बाबाले दिदीको घरमा ल्याएर छोडीराखेछन। पछि दिदी पनि डेलिभरी अवस्थामा बितेको खबर आयो हामी कालेबुङबाट दिदीको शव लिन गयौँ। त्यस समय सानो फुच्चे यो केटालाई पनि हामीले यतै ल्याएर आयौँ" – तिनले स्मरण गर्दै भने।
छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गत 30 जुलाई 2013 को दिन डम्बरचौकमा आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने मंगलसिह राजपुत गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आत्मदाह गरेर बिरगती पाउँने पहिलो व्यक्ति हुन। गोर्खाल्याण्ड राज्य भनेपछि हुरुक्कै हुने राजपुतले कालेबुङको माटोमा सन 1976 मा टेकेका थिए। राजपुत कहिले अनि कुन ठाउँमा जन्मे कसैलाई थाह छैन अनि तिनका माता पिता को हुन भन्ने जानकारी समेत कसैलाई छैन। यद्यपी तिनी गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आत्मदाह गर्ने भने पक्कै पहिलो व्यक्ति हुन। मङगलसिह राजपुत उर्फ मंगले कालेबुङ आउँदा चार पाँचवर्षका वर्षका थिए। सन 1976 को कुरा हो कालेबुङका स्व छिरिङ छोडेन भोटिया भोटाङको फुन्छोलिङमा काम गर्थे। त्यसै समय मङगलसिंह राजपुतलाई तिनका आमा बाबाले भोटियाको घरमा ल्याएर राखिदिएको स्व छिरिङ छोडेन भोटियाको भाई निमा वाङदी भोटिया बताउँछन। तिनको आमा बाबाको पत्तो थिएन। जसको कारण स्व छिरिङ छोडेन भोटियाको शव संगै राजपुतलाई पनि कालेबुङमा ल्याएर आए निमावाङदी भोटियाले। त्यसपछि सुरु भयो मङगलसिह राजपुतको कालेबुङमा बाल्यकाल। कालेबुङको माटोसंग तिनी परिचित बन्दै हुर्किए तयपछि अस्सिको दशकमा सुवास घिसिङले चलाएको माटोको आन्दोलनले मङगलसिह राजपुतलाई पनि माटो प्रेम जगाईदियो। तिनी अस्सिको दशकमा खाँटी गोरामुमो पार्टीका कार्यकर्ता भएर आन्दोलनमा होमिए। सोही समय तिनलाई कालेबुङ शहरको छ नम्बर वार्डको गोरामुमो पार्टीको सयोजक समेत बनाईदिएको तिनलाई हुर्काउँने निमा वाङदी भोटिया बताउँछन। यसरी माटो प्रेमले मातिएको मङगलसिह राजपुत आन्दोलनमा होमिए पछि सीआरपीको डरले निमा वङदी भोटियाको घरबाट दिन दिनै टाडा हुँदै गए। समय समयमा तिनको आऊ जाऊ हुन थाल्यो। त्यसपछि तिनी जवान भए अनि वैवाहिक जीवनतिर नब्बेको दशकमा लागे। नब्बेको दशकमा तिनले डा ग्राहम होम्स ब्लक डी निवासी मञ्जु राजपुतलाई विहाह गरे अनि तिनलाई हुर्काउँने निमा वाङ्दी भोटियाले नै विवाह समेत गरिदिए पछि उनीहरुको दाम्पत्य जीवन अघि बड्यो। त्यसपछि राजपुत होम्समा नै बस्न थाले। जीवन चल्न थाल्यो। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन भयो। तिनी आन्दोलनमा सरिक भए। सुनकोशमा गोर्खाल्याण्डको माग गर्दै मोर्चाले शुरु गरेको पैदल यात्रामा सरिक भएर सुनकोश पनि पुगे। गोर्खाल्याण्डको आन्दोलन थामियो। जीटीए  गठन भयो। तिनी निकै हराए। पछिबाट पहाडमा तृणमूल कङ्ग्रेस बिस्तारको हल्लामा तिनी तृणमूल कङ्ग्रेसमा प्रवेश गरेको हल्ला भयो। यसबारे आफै पत्रकार सम्मेलन डाकेर आफु गोजमुमो पार्टीमा रहेको स्पष्टिकरण दिए। मोर्चाले जीटीए फेल भएको घोषणा गर्‍यो अनि पहाडमा शुरु भयो तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलन। तिनी सडकमा उत्रिए। मोर्चाले प्रथम चरणमा 72 घण्टाव्यापी पहाड बन्द डाक्यो। बन्दको दोस्रो दिन गोजमुमो पार्टीको झण्डा आफ्नो शरिरमा बाँधेर आफैलाई आगो लगाए अनि "गोर्खाल्याण्ड जिन्दावाद !!" को नारा लगाउँदै डम्बरचौकमा दौडिए। सबैले तिनको शरिरको आगो निभाए। त्यस पछि जीवन र मृत्युको संघर्षमा तिनी हारे सम्पूर्ण गोर्खाहरुलाई गोर्खाल्याण्डको निम्ति जगाएर।

No comments:

Post a Comment