पूर्वी चीन समुद्रमा अमेरिकी बमवर्षक विमान

बेइजिङ (एजेन्सी), मंसिर  - चीनद्वारा हवाई सुरक्षा पहिचान क्षेत्र घोषित पूर्वी चीन समुद्रको उडान क्षेत्र उल्लंघन गर्दै दुई अमेरिकी बमवर्षक विमानले विनासूचना उडान भरेका छन् । यसले चीन र जापानबीच समुद्री टापुको स्वामित्त्वलाई लिएर विवाद कायम रहँदा नयाँ विवाद जन्माएको छ । अमेरिकी बी-५२ विमानले पूर्वसूचनाविना नै मंगलबार निषेधित क्षेत्रमा उडान भरेका हुन् । गत शनिबार मात्र चीनले दक्षिण कोरियादेखि ताइवानसम्मको जलक्षेत्रलाई 'हवाई प्रतिरक्षा पहिचान क्षेत्र' घोषणा गरेको थियो । उक्त उडान क्षेत्रमा चीन-जापानबीच स्वामित्व विवाद चलिरहेको सेनकाकु द्वीप समूह पनि पर्छ । जसअनुसार उक्त क्षेत्र हुँदै उड्ने यात्री, कार्गोबाहक र सैन्य प्रयोजनका विमानहरूले उडान योजना र राष्ट्रियता उल्लेख गर्दै चिनियाँ वायु सेनाबाट पूर्वस्वीकृति लिनुपर्छ । उडान अवधिभर द्विपक्षीय सञ्चार पनि कायम गर्नुपर्छ । अमेरिकाले उक्त द्वीप समूहलाई जापानी स्वामित्वको बताउँदै अएको छ । अमेरिकी रक्षा विभागका अधिकारी कर्णेल स्टिभ बारेनका अनुसार त्यस क्षेत्रमा लडाकु विमानले परीक्षण उडान भरेका हुन् । 'हामीले आफ्नो सामान्य पक्रिया अनुसार उडान भरेका हौं, जसमा उडान योजना नबताउने, सञ्चार उपकरणबाट अग्रिम जानकारी नदिने र आफ्नो अवस्थिति नबताउने सामेल छ,' वारेनले भने । जापानका एयरलाइन्स कम्पनीहरूले चिनियाँ निर्देशन नमान्ने घोषणा यसअघि नै गरिसकेका छन् । अमेरिकाले पनि त्यसको विरोध गर्दै आएको छ । मंगलबार उडान भरेका बमवर्षक विमान हातहतियारविहीन रहेको अमेरिकाको दाबी छ । दुवै विमानले मेरियाना टापुस्थित अमेरिकी वायु सेनाको आधार शिविरबाट उडान भर्दै पूर्वी चीन समुद्रमाथिको आकाशमा पुगेका थिए । चीनद्वारा घोषित क्षेत्रमा अमेरिकी जासुसी विमानहरूले यसअघि पनि गोप्य उडान भर्दै आएका छन् । त्यसको उदाहरण हो, सन् २००१ मा दक्षिण चीन समुद्रमा चिनियाँ विमानसँग ठोक्किएको अमेरिकी विमान । उक्त घटनामा चिनियाँ पाइलट मारिएका थिए । खासगरी चीनले विकास गरेको 'स्टिल्थ ड्रोन' (गोप्य उडान गर्ने सक्ने मानवरहित विमान) को निगरानी गर्नु अमेरिकाको मुख्य ध्येय देखिन्छ । सन् २००१ जस्तै घटनाबाट बच्नका लागि हवाई प्रतिरक्षा क्षेत्र घोषणा गर्नुपरेको तर्क चिनियाँ अधिकारीहरूको छ ।

No comments:

Post a Comment