एसएलसी नतिजाले न खुसी छायो, न त उमंग नै


नेपालगन्ज-छोराछोरीले एसएलसीमा सुखद नतिजा ल्याएपछि थुप्रै अभिभावक हर्षोल्लास मनाइरहेका होलान्। तर, नेपालगन्ज–१३ भृकुटीनगरस्थित अधिकारी परिवारलाई एसएलसी नतिजाले न खुसी छायो, न त उमंग नै। पन्ध्र वर्षीया छोरी अनुराधा अधिकारी स्थानीय आदर्श बोर्डिङ स्कुल टप गर्दै ८८.७५ प्रतिशत अंकसाथ विशिष्ट श्रेणीमा उत्तीर्ण भइन्। तर, दम्पतीका लागि यो खुसी अलिनो छ। बरु नतिजाले उनीहरूमा विनाशकारी भूकम्पको पीडा बल्झाइरहेछ। एसएलसी दिएर राजधानी घुम्न गएका बेला धरहरा ढलेर अनुराधाको घटनास्थलमै ज्यान गएको थियो।
शुक्रबार एसएलसीको नतिजा प्रकाशित भएको खबरले धेरै अभिभावकमा उत्सुकता जगाए पनि भृकुटीनगरका ध्रुव अधिकारीले कुनै चासो दिएनन्। शिक्षकले फोन गरेर अनुराधा ८८.७५ प्रतिशत अंकसाथ विशिष्ट श्रेणीमा आएको बताएपछि मन सम्हाल्न झन् गाह्रो भयो। आमा रन्जु शर्माले पनि छोरीको नतिजा सुनिसकेपछि मन सम्हाल्न सकिनन्। ‘एसएलसी नतिजाले हाम्रो परिवारमा अर्को भूकम्प आइदियो,’ अधिकारीले भने, ‘भूकम्पले बनाएको घाउ पुरिन नपाउँदै एसएलसी नतिजाले फेरि बल्झायो।’
उक्त स्कुलका शतप्रतिशत अर्थात २४ मा २४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तर, स्कुल टप गर्ने विद्यार्थी नहुँदाको पीडाले शिक्षक–विद्यार्थीलाई पनि उत्तिकै छोपेको छ। आदर्श स्कुलका संस्थापक ईश्वरप्रसाद पोखरेलले अनुराधा नहुँदा आफूहरू निकै मर्माहत भएको बताए। ‘आदर्शको रिजल्ट अहिलेसम्मकै राम्रो आएको छ तर स्कुल टप गर्ने विद्यार्थी नहुँदा खल्लो हुन पुग्यो,’ उनले भने। स्कुलले अनुराधाको सम्मानमा ‘अनुराधा छात्रवृत्ति कल्याणकोष' स्थापना गर्ने तयारी गरेको पोखरेलले बताए।
बिहान १० बजेदेखि ४ बजेसम्म स्कुल समयबाहेक अनुराधा ५ घन्टा मात्रै सुतेर बाँकी समय पढाइमै खर्चिन्थिन्। ‘बेलुका खाना खाइसकेपछि राति १२ बजेसम्म छोरी पढाइमै हुन्थिन्,’ अधिकारीले भने, ‘बिहान पाँचै बजे उठेर पढ्न थाल्थिन्।’ छोरीले प्लसटुमा विज्ञान विषय र त्यसपछि डाक्टर वा इन्जिनियरिङ पढ्ने इच्छा सुनाउने गरेको उनले सम्झिए।
२०५७ असोज २० गते जन्मेकी अनुराधा सानैदेखि पढाइमा जेहेनदार र लगनशील थिइन्। उनी हरेक कक्षामा पहिलो वा दोस्रो स्थानमा आउने गरेको स्कुलले जनाएको छ। गत चैतमा एसएलसी दिएर फुर्सदिलो भएकी अनुराधाको केही दिन घुरफिर गर्ने र त्यसपछि तयारी कक्षा लिने योजना थियो। बाबुसँग राजधानी गएकी उनको सबै सपना भूकम्पले चकनाचुर बनाइदियो।
छोरीका लागि भविष्यको सुन्दर सपना बोकेर राजधानी गएका अधिकारी छोरीको शव दाहसंस्कार गरेर फर्किए। वैशाख १२ गते शनिबार बिहान अन्टी संगीता, बहिनी १० वर्षीया श्रीया (अन्टीकी छोरी)सँग अनुराधा सुन्धारा पुगेकी थिइन्। दिदीबहिनी धरहरा चढेका थिए। त्यसै बेला आएको भूकम्पले धरहरा ढलेपछि अनुराधा र श्रीयाको मृत्यु भएको थियो।

No comments:

Post a Comment