कोरियाको रहरले सडकमै बास..

गाउँमा बाबुबाजेले खोरिया फाँडेर बनाएको खेतबारी बाँझै छ ।

बाँझो खेतबारी खन्न हातपाखुरा दह्रो भएका युवा चाहिँ कोरिया जाने रहरले रातभर सडकमा बास बसेका छन् । प्रसंग हो, रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियाको लागि आवेदन फारम भर्नेहरुको घुईंचो ।

बुधबार बिहान ९ बजेदेखि आवेदन फारम लिने व्यवस्था भएपनि युवाहरु अघिल्लो दिन मंगलबार दिउँसैदेखि तोकिएको केन्द्रमा पुगेका थिए । झोलामा खाजापानी बोकेर पुगेका उनीहरु राति पनि त्यहीँ बसे । लाइन लाग्ने ठाउँमै झोला सिरानी राखेर सुते ।

बिहान आँखा मिच्दै फेरि लाइनमै उभिए । भोक र निद्रा भन्दा पनि उनीहरुलाई कहिले फारम लिन पाइएला भन्ने चिन्ता थियो । बिहान उज्यालो भएपछि भीड थपिँदै गयो । यो भीडमा युवतीहरुको संख्या पनि उल्लेख्य छ । सबैको एउटै लक्ष्य छ–जतिसक्दो छिटो फारम भर्ने, दर्ता गर्ने, परीक्षामा पास हुने र कोरियामा काम गर्न जाने ।

अघिल्लो दिनदेखि नै लागेको युवाहरुको भीड व्यवस्थित गर्न प्रहरीलाई भ्याईनभ्याई भयो । बुधबार मध्यान्नसम्म पनि भीड उस्तै थियो । 



काठमाडौंको सानो गौचरनमा मात्र होइन, सिद्धार्थ वनस्थली र ल्याबरोटरी माध्यमिक विद्यालय कीर्तिपुरको केन्द्रमा पनि आवेदन फारम भर्ने युवाहरुको भीड लागेको छ । काठमाडौं बाहिर धरान नगरपालिकाको सभागृह र बुटवल नगरपालिकाको बुटवल प्रदर्शनी मण्डपमा पनि केन्द्र तोकिएको छ ।

एउटा केन्द्रमा झण्डै एक सयजना कर्मचारी खटिएका श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसवर्ष झण्डै ७० हजारले आवेदन फारम भर्ने अनुमान गरिएको छ । दुई वर्षअघि सन् २०११ मा ५७ हजारले फारम बुझाएका थिए ।



 

No comments:

Post a Comment