बाँचेर रुवाए, मरेर रुवाए

काठमाडौं, मंसिर २५ - प्रायः उनका फिल्ममा दर्शक रुने गर्छन् । खासगरी नारी संवेदनामा कथा पस्कन माहिर मानिने निर्देशक शिव रेग्मीको निधनमा रुने पनि धेरै भए । दुबै मृगौलामा खराबी देखिएपछि उपचारकै क्रममा उनले सोमबार ४९ वर्षको उमेरमा प्राण त्यागे । बल्खुस्थित बयोधा अस्पतालमा बिहान पौने छ बजे अन्तिम श्वास फेरेका शिवको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलीका लागि बिहान नौ बजे नै गृहजिल्ला चितवन पुर्‍याइएको थियो ।
झन्डै दश महिनाअघि दुवै मृगौलाले काम गर्न छोडेको अवस्थामा उपचारका लागि भारतको दिल्लीस्थित सर गंगाराम अस्पताल पुर्‍याईएको थियो । तर रेग्मीलाई क्ष्ायरोग पनि देखिएपछि त्यहाँ मृगौला प्रत्यारोपण तत्काल सम्भव भएको थिएन । सामान्य उपचारपछि घर फिरेका रेग्मीको कार्तिक १६ मा पुनः स्वास्थ्य बिगि्रएको थियो । झन्डै एक महिना चितवनकै भरतपुर मेडिकल कलेजमा भ्यान्टिलेटरमा राखेर उपचार गराउँदा पनि ठीक नभएपछि एअर एम्बुलेन्सबाटै निर्देशक रेग्मीलाई काठमाण्डुस्थित बयोधा अस्पताल ल्याइएको थियो । सुगर रोगले पीडित रेग्मीलाई पछिल्लो समय निमोनिया र जण्डिस समेत देखिएको अस्पताल स्रोतले जनाएको छ । गत शनिबारदेखि उनका अंगहरुले काम गर्न छोडेका थिए ।
२०२१ साल भदौमा चितवनको बाह्रघरेमा जन्मेका शिवले २०४७ मा स्थानीय नारायणी कला मन्दिरबाट कला यात्रा थालेका थिए । रंगमन्चबाट भने उनी पटकथा लेखकको रुपमा फिल्म क्षेत्रमा छिरेका थिए । राजुध्वज राणाको निर्देशन रहेको फिल्म 'प्रेमपूजा' बाट २०५० सालमा रेग्मीले पटकथा लेखन शुरु गरेका हुन् । दर्जन फिल्म लेखनमा सफल रेग्मीलाई निर्माता इन्द्र गुरुङले फिल्म 'आफन्त' बाट २०५६ सालमा निर्देशनबाट ब्रेक दिएका थिए । आफ्नै पटकथा समेत रहेको पहिलो फिल्म 'आफन्त' नै सुपरहिट भएपछि रेग्मीको करिअरमा कहिल्यै ग्रहण लागेन । उनले 'आफ्नो मान्छे', 'पाहुना', 'ए मेरो हजुर', 'मुग्लान', 'सुखदुःख', 'उपहार', 'कहाँ भेटिएला' जस्ता सुपरहिट फिल्म दिएका छन् । निर्देशक शिवलाई अधिकांश हिरो हिरोइनलाई स्थापित गर्ने श्रेय पनि जान्छ । श्रीकृष्ण श्रेष्ठलाई 'रामबलराम', 'सुखदुःख', 'आफन्त' र 'कहाँ भेटिएला' बाटै हिट बनाएका रेग्मीले झरना थापालाई 'ए मेरो हजुर' बाट थप चर्चामा पुर्‍याईदिएका थिए भने निरुता सिंह पनि रेग्मीकै फिल्म 'आफ्नो मान्छे', 'आफन्त' बाट चर्चित बनेकी थिइन् । दिलिप रायमाझीको करिअरमा पनि शिव रेग्मीको अह्म भुमिका छ । 'आफ्नो मान्छे', 'मुग्लान' र 'पाहुना' ले दिलिपलाई सफलता चखाएको थियो । अन्तिम फिल्म 'सो सिम्पल' बाट रेग्मीले आफ्नी जेठी छोरी भावना र 'कहाँ भेटिएला' बाट श्वेता खडालाई नायिकाका रुपमा डेब्यु गराएका थिए ।
डेढ दर्जन फिल्म निर्देशन गरेका रेग्मी धेरै हिट फिल्म दिनेमा अग्रपंक्तिमा आउँछन् । प्रजातन्त्र पुनःस्थापनापछिको समयलाई शिवका फिल्मको युग मानिन्छ । नारी समवेदना र सामाजिक कथावस्तुमा सिद्धहस्त मानिन्छन् । 'उहाँ जस्तो विषयबस्तुको गहिराईमा पुग्न सक्ने निर्देशक सायदै हुन्छन्' रेग्मीको निर्देशनबाटै तीन फिल्म बनाएका निर्माता केशव भट्टराईले भने, 'कलाकारलाई सिन अनुसारको मुडमा ल्याउन सक्ने खुबी विचित्रको थियो ।' भट्टराईले रेग्मीकै निर्देशनमा पहिलो फिल्म 'आफ्नो मान्छे' बनाएका थिए भने उनकै 'सो सिम्पल' रेग्मीको अन्तिम फिल्म बन्यो । पौष २६ मा शिव रेग्मीको निर्देशन रहेको फिल्म 'पराई' रिलिज हुँदैछ भने अर्को 'मनले मनलाई छुन्छ' रिलिजको पर्खाइमा छ । 'युद्ध', 'रामबलराम', 'साथी म तिम्रो', 'हामी तिनभाई', 'फूल', 'हाँसिदेऊ एकफेर', 'दुनियाँ' पनि रेग्मीका स्मरणीय फिल्म हुन् ।
नाट्य क्षेत्रबाट फिल्ममा छिरेका रेग्मीले आफुलाई पटकथाकार हुँदै निर्देशनमा मात्रै सफल बनाएनन्, गीतकारका रुपमा पनि चर्चित छन् । उनका 'फूलको थुंगा हौ की....', 'बगैंचामा नजाउ तिमी...', 'मलाई यो जिन्दगीले चोट दियो गनीगनी...' जस्ता केही गीत सदाबहार हिट छन् । रेग्मीका पत्नि ज्ञानु, छोरा अभिषेक र दुई छोरीहरु भावना र पल्लवी छन् । अभिषेक बंगलादेशमा एमबीबीएस पढै छन् भने दुवै छोरी नर्सिङ पढिरहेका छन् । रेग्मीको निधनमा फिल्मकर्मी र फिल्म सम्बद्ध संघसंस्थाहरुले समबेदना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २०७० मंसिर २५ १२:४६

No comments:

Post a Comment